काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म युनिलिभर नेपाल लिमिटेडले ५२ करोड ६९ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्षको यसै अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ४ दशमलव ६३ प्रतिशत घटेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
यस वर्ष कम्पनीको कुल आम्दानी ३ प्रतिशतभन्दा बढीले घटेकाले पनि नाफामा असर परेको हो । गत वर्ष २ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष २ अर्ब २८ लाख रुपैयाँभन्दा बढी यो आम्दानी गरेको हो ।
कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी कुल खर्च गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको कुल खर्च १ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी भएको थियो ।
हाल यस कम्पनीको चुक्तापूँजी ९ करोड २१ लाख रुपैयाँ छ । नेपालको धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमध्येकै सर्वाधिक लाभांश यो कम्पनीले वितरण गर्दै आएको छ । यस वर्ष पनि कम्पनीले १ हजार ७१४ प्रतिशत नगद लाभांश करसमेत वितरण गरेको छ ।
पहिलो त्रैमाससम्म कम्पनीको रिटेन्ड अर्निङ ५ अर्ब २८ करोड रुपैयाँभन्दा बढी कायम छ । वार्षिक प्रतिशेयर आम्दानी २ हजार २८८ रुपैयाँ ३८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ५ हजार ८३६ रुपैयाँ छ । कम्पनीको मूल्य आम्दानी अनुपात भने २१ दशमलव ५२ गुणा छ ।