अर्थतन्त्र चलायमान राख्न बैंकले प्रवाह गर्ने कर्जाको महत्त्वपूर्ण योगदान रहिआएको हुन्छ । बैंकहरूले प्रवाह गर्ने कर्जाबाट नै ठूलाठूला परियोजनाले एउटा आकार पाउँछन्, उद्योग तथा कलकारखाना सुमधुर गतिमा बढ्न सक्छ, मुलुकमा रोजगारका अवसरहरू सृजना हुन्छन् र समग्र अर्थतन्त्रलाई एउटा सकारात्मक ऊर्जा प्रवाह हुन्छ । नेपाल राष्ट्र बैंकले तोकेबमोजिम कुल निक्षेपको ९० प्रतिशतसम्म बैंकहरूले कर्जा प्रवाह गर्न पाउने प्रावधान छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार अहिले समग्रमा बैंकहरूको निक्षेप अनुपात ७८:१० रहेको छ जसअन्तर्गत अझै पनि ११:९० को भाग लगानी गर्न पर्याप्त रहेको देखिन्छ । बैंकहरूको ब्याजदर घटेर अहिले मुद्दतीमा ६ प्रतिशतमात्र पाउने अवस्था छ । औसतमा बैंकहरूको आधार दर ७ दशमलव ३५ रहिआएको छ ।
बैंकहरूले प्रवाह गर्ने कर्जाप्रति आकर्षण नहुनुको प्रमुख कारक तत्त्व भनेको त्यहाँभित्र रहिआएका नियमहरू हुन सक्छन् । बैंकहरूले कर्जा प्रवाह गर्नुअगाडि विभिन्न नियम मानेर कर्जा प्रवाह गर्नुपर्छ । धितो मूल्यांकनदेखि आयस्रोतसम्म विचार गर्नुपर्ने हुन्छ । यो सधंै सान्दर्भिक नहुन सक्छ । कसिलो नीति भनेको बैंक आफू सुरक्षित रहनलाई हो, निक्षेपकर्ताको निक्षेप सुरक्षित राख्न नै हो, यद्यपि यस्तो समयमा पनि कर्जामा खुकुलो नीति लिन नसक्दा बैंकहरूले कर्जा प्रवाह गर्न सक्दैनन् । एकातिर आवश्यक ग्राहकले कर्जा पाइरहेका हुँदैनन् भने अर्कातिर बैंकमा पैसा थुप्रिरहेको हुन्छ । सूक्ष्म दृष्टिबाट हेर्दा दोस्रो महत्त्वपूर्ण कारण भनेको वित्तीय ज्ञानको अभाव हो । बैंक प्रवेश गर्ने, आफ्नो योजना सुनाउने र बैंकबाट कर्जा माग गर्न सक्ने जाँगर धेरै नेपालीले अहिले पनि राख्दैनन् । बैंकको नियम के कस्तो छ, कागजी प्रक्रिया केकति छ, शुल्क कति लाग्छ, यसबारे जनचेतनामा कमी छ, जसको स्पष्ट फाइदा मीटर ब्याजीले लिइरहेका हुन्छन् । सुन धितो राख्नु पर्दा अहिले पनि सुनारकैमा जाने परिपाटी छ । सबै स्थानीय तहमा बैंक पुगिसक्दा पनि कर्जाको माग हुने शाखा भनेको शहरकेन्द्रित नै हुने गरेको देखिन्छ, जसले वित्तीय ज्ञानको अभाव रहेको पुष्टि गर्छ ।
कर्जा नि:शुल्क पैसा पक्कै होइन । यसका लागि खर्च लाग्छ, जसलाई बैंकको भाषामा ब्याज भनिन्छ । ब्याज तिर्नुपर्ने भएपछि बैंकहरूले कर्जा प्रवाह गर्ने भए तापनि ग्राहकले कुनै ठोस कारण नभई उक्त कर्जा लिँदैनन् । ग्राहकलाई कर्जा लिनका लागि कारण चाहिन्छ । अर्थतन्त्रको हालको अवस्था समष्टि अर्थशास्त्रले देखाइरहेको छ । बजारमा कारोबार नहुनु, महँगी आदि यसका उदाहरण हुन् । कारोबार नभएर व्यापारीहरूमा नैराश्य छाएको छ । न्यूरोडका कपडा व्यापारी हुन्, पुतलीसडकका बिजुली उपकरण बेच्ने व्यापारी हुन् वा घरनिर्माण सामग्रीका हार्डवेयर व्यापारी, कतै पनि उत्साह देखिएको छैन । यसको दुई प्रमुख कारण समग्र अर्थशास्त्रअन्तर्गत रहेर पुष्टि गर्ने गरेको बुझिन्छ । पहिलो महँगी हो । जब नुन, तेल, आलु, प्याज, चामल, दाल, पिठोजस्ता आधारभूत वस्तुको मूल्य बढ्छ, लुगा, कपडा, घर निर्माण, फर्निचरजस्ता वस्तुहरूतिर खर्च गर्न मिल्ने रकममा कमी आउँछ । बच्चाको विद्यालयको शुल्क तिर्नुपर्ने बाध्यताले पोहोरकै लुगामा दशैं टार्ने परिवार अहिले धेरै नै छन् । यस्तो अवस्थामा बजारमा माग नबढ्नु स्वाभाविक हो । दोस्रो कारण भनेको युवा शक्ति पलायन हुनु पनि हो । नेपालमा उच्च जनसंख्या युवाको छ । ऊ नै नेपाल नबस्ने भएपछि स्वाभाविक रूपमा युवालक्षित व्यापारहरू रेस्टुराँ, लुगा कपडा, घर निर्माण आदिमा कमी आउने नै भयो । आर्थिक रूपमा अहिले नेपालीहरू बढ्दो इन्धनको मूल्य, बढ्दो डलरको मूल्यदेखि सबै कुराको चपेटामा परेका छन् । यस अवस्थामा व्यापार क्षेत्रमा उत्साह नदेखिनु स्वाभाविक पनि हो । व्यापार क्षेत्रमा उत्साह नदेखिँदा कर्जाको माग पनि हुँदैन ।
कर्जाको आकर्षण बढाउन यस समयमा बैंकहरू आक्रामक रूपमा लागिपरेका देखिन्छन् । हुन पनि यस समयमा बैंकहरूकै नाफा घट्ने हुँदा बैंकहरू आफै तात्नु स्वाभाविक पनि हो । यस्तोमा अस्वस्थ कर्जामा लगानी हुने डर हुन्छ ।
बैंकहरूसँग पर्याप्त निक्षेप भएको समयमा कर्जा प्रवाह गर्न नसक्नु, अर्थात् कर्जा निक्षेप सीडी अनुपात कम हुनु भनेको सोझो दृष्टिबाट बैंकहरूको नाफा घट्नु हो । हुन त बैंककै नाफा मात्र घट्दा पनि सरकारलाई प्राप्त हुने राजस्वमा कमी आउँछ, तर यसको दूरगामी प्रभाब अन्य विभिन्न पक्षमा पर्छ । यसबाट तरलता अस्थिर हुन्छ । यो स्वाभाविक आर्थिक चक्रको एउटा पाटो हो कहिले तरलता अधिक हुन्छ त कहिले अभाव । तरलता अधिक भएको अवस्थामा कर्जाको माग नहुनु भनेको अर्थतन्त्रका लागि खतराको संकेत हो । यस समयमा कर्जाको माग नहुनु, बैंकहरूले लगानी गर्न नसक्नाले अर्थतन्त्र नै ढिलो गतिमा बढ्ने सम्भावना रहेको हुन्छ । उद्यमशीलताको कमी भएको यसले संकेत गर्छ । लगानीकर्तालाई यहाँ लगानी गर्ने रुचि हराएको संकेत यसले प्रत्यक्ष रूपमा गरिरहेको बुझ्न सकिन्छ । अर्थतन्त्रका लागि यो दु:खद विषय हो । बैंकहरूले लगानी गर्न नसक्नुको प्रत्यक्ष प्रभाव कुल गार्हस्थ्य उत्पादनमा पर्छ । कुल गार्हस्थ्य उत्पादनमा कमी आउनु भनेको समग्र अर्थतन्त्रमै नैराश्य छाउनु हो । बेरोजगारी दर बढ्छ । उद्योग कलकारखानाजस्ता क्षेत्रमा अवसर र उत्साह घट्छ ।
बैंकहरूले लगानी गर्ने अवसर छुटाउनुको प्रत्यक्ष असर आर्थिक परिप्रेक्ष्यलाई पर्छ । बैंकले लगानी नगर्नुको अर्थ अर्थतन्त्रमा पूँजी र खर्च नबढ्नु हो । यसले भविष्यको आशालाई निराशामा लैजान्छ । वैदेशिक लगानीको सम्भावनासमेत न्यून बनाउँछ । हुन त पछिल्लो ६ महीनामा ४३ अर्बभन्दा बढी कर्जा थपिएको देखिन्छ, जुन एउटा सकारात्मक पक्ष हो । ब्याजदर सस्तिँदै गर्दा सुनचाँदी धितो, मुद्दती निक्षेप धितो, क्रेडिट कार्डजस्ता क्षेत्रमा कर्जा बढेको देखिन्छ । उपभोग्य क्षेत्रमा लगानी बढ्नु सुखद संकेत हो, तर यो पूर्णविराम चाहिँ होइन । उपभोगका क्षेत्रमा मात्र खर्च हुने भएकाले अर्थतन्त्र फाइदा पुगेको हुँदैन, तर शुरुआत मात्र भएको हुँदा एउटा आशाको दियो मान्न सकिन्छ ।
कर्जाको आकर्षण बढाउन यस समयमा बैंकहरू आक्रामक रूपमा लागिपरेका देखिन्छन् । हुन पनि यस समयमा बैंकहरूकै नाफा घट्ने हुँदा, बैंकहरू आफै तात्नु स्वाभाविक पनि हो । यस्तोमा अस्वस्थ कर्जामा लगानी हुने डर हुन्छ । शाखा प्रबन्धकलाई आफ्नो लक्ष्य पूरा गर्नकै लागि भए पनि नियमलाई थोरै मोडेर यस समयमा गरिने लगानी जोखिमयुक्त हुन्छ । बैंकहरूबीच हुने अस्वस्थ प्रतिस्पर्धाले थप विकराल अवस्था ल्याउन सक्छ । बैंकहरूको सीडी अनुपात घट्दा समग्र अर्थतन्त्रलाई प्रभाव पार्ने हुँदा यस अवस्थालाई सुधारोन्मुख बनाउन सरकार र केन्द्रीय बैंक दुवै पक्षको भूमिका महत्त्वपूर्ण हुन्छ । कसिलो नीतिबाट खुकुलो नीतिमा आफूलाई परिमार्जन गर्नुपर्छ । उद्योग कलकारखानालाई व्यापार गर्ने माहोल निर्माण गर्ने भूमिका सरकारको हुन्छ । अर्थतन्त्र सुधारका लागि यो एउटा महत्त्वपूर्ण पक्ष भएकाले यसलाई समाधान नगरी अगाडि अन्य योजना प्रभावकारी रूपमा अगाडि लैजान सकिँदैन ।
रेग्मी बैंकर हुन् ।