काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा प्रयोग हुने यन्त्र तथा उपकरणको गुणस्तरमा प्रश्न उठाएका छन् । ललितपुरमा आज आयोजित नेपाल कृषि मेसिनरी व्यवसायी संघको नबौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दे मन्त्री अधिकारीले एकातिर कृषिलाई यान्त्रीकरण गर्दे जानु पर्ने आवश्यकता छ, अर्को तर्फ यस्ता उपकरणको गुणस्तरीयताबाट विश्वस्त हुने अवस्था नरहेको बताए ।
'आफूले किनेको हाते ट्याक्टर बिग्रिएर प्रत्येक वर्ष दश हजार भन्दा बढि खर्च गर्नू परेको वास्तविकता छ ,पचास हजार हालेर किनेको मेसिन मर्मत गरिरहन किसानले खर्च धेरै गर्न परिरहेको छ यो अवस्थाको अन्त्य हुनुपर्छ' मन्त्री अधिकारीले भने ।
तर पनि कृषि उपकरण खरिद गर्दा गुणस्तरमा निश्चिन्त भएर गर्न किसानहरूलाई मन्त्री अधिकारीले आग्रह गरे । कृषि यान्त्रिकीकरणको प्रवर्द्धनमा व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण रहेको र अव यस्ता यन्त्र उपकरण स्वदेशमै बनाउन पहल गर्न व्यवसायीहरूलाई मन्त्री अधिकारीले आग्रह गरे ।
'उत्पादन लागत घटाउन, उत्पादकत्व बढाउन, र दिगो कृषि प्रणाली सुनिश्चित गर्न यान्त्रिकीकरणलाई प्राथमिकता दिदैँ सरकार अघि बढेको छ,' मन्त्री अधिकारीले भने । आधुनिक कृषि यन्त्र तथा उपकरणहरूमा अनुदानका कार्यक्रमहरू निरन्तर सञ्चालनमा ल्याएका कारण उत्पादन वृद्धि हुँदैछ ,यसलाई अझ प्रभावकारी बनाउन सरकार सरोकार पक्ष सँग सहकार्य गर्न तयार रहेको पनि मन्त्री अधिकारीले उल्लेख गरे ।