काठमाडौं । कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सव सोमवार (आज) सम्पन्न भएको छ । सोमवार बैंक परिसरमा सम्पन्न समारोहका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पानसमा दीपप्रज्वलन गरी वार्षिकोत्सव समारोहको उद्घाटन गरेका थिए ।
सो अवसरमा उनले पछिल्लो समय समग्र अर्थतन्त्रका सूचकहरू सकरात्मक हुने संकेत देखिएकाले बैंकहरूले कर्जा लगानीलाई थप सर्वसुलभ ढंगले कर्जा प्रवाह गर्ने गरी आफ्ना कार्यक्रमहरू बढाउन आग्रह गरे ।
उक्त अवसरमा उपप्रधान तथा अर्थमन्त्री पौडेलले बैंकको नयाँ वेबसाइटको शुभारम्भसमेत गरे ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकहरूले पछिल्लो समयमा गरेको प्रगति राम्रो भएकोले लगानीको मार्गप्रशस्त गर्दै अगाडि बढ्न आग्रह गरे ।
सो अवसरमा बैंकले प्रकाशन गरेको ५८ औं वार्षिकोत्सव आर्थिक विशेषाङ्क तथा विगत ४६ वर्षदेखि प्रकाशन भइरहेको साहित्यिक प्रकाशन समष्टिको पनि विमोचन गरिएको थियो ।
बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कृषि विकास बैंकका पूर्व महाप्रबन्धक श्रीकृष्ण उपाध्याय लगायतले वार्षिकोत्सवको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकत गोविन्द गुरुङले हाल बैंकको समग्र गतिविधिको समेत जानकारी दिएका थिए । समारोहमा बैंकमा अविच्छिन्न २० वर्ष र २५ वर्ष काम गरेका कर्मचारीहरूलाई पदक र कदरपत्र समेत प्रदान गरिएको थियो ।
गत आर्थिक वर्षको लेखापरीक्षण पश्चातको परिष्कृत वित्तीय विवरण अनुसार बैंक ४ अर्ब १३ करोड रुपैयाँ सञ्चालन मुनाफा तथा २ अर्ब ८९ करोड रुपैयाँ खुद मुनाफा गर्न सफल भएको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले २ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले कृषि क्षेत्रमा करीब ६८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको हो । यो कुल कर्जा प्रवाहको ३३ प्रतिशत हो ।
बैंकले ७७ जिल्लामा रहेका करीब २१ लाख निक्षेपकर्ताहरूलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गरिरहेको जनाएको छ । यस्तै, १ लाख ५२ हजारभन्दा बढी उद्यमी व्यवसायी तथा अन्य ग्राहकहरूले कर्जा सुविधा उपभोग गरिरहेका छन् । जसमध्ये १ लाख ४७ हजारभन्दा बढी कर्जा ग्राही २० लाख रुपैयाँभन्दा कम कर्जा लिने छन् । तीमध्ये करीव ८२ हजार कर्जा ग्राही किसान रहेको बैंकले जनाएको छ ।
बैंकले २७१ शाखा र २२ एक्सटेन्सन काउन्टरमार्फत ७७ वटै जिल्लाहरूबाट बैँकिङ्ग कारोबार सञ्चालन गर्दै आएको छ । बैंकका ४९ भन्दा बढी कार्यालयमा लकर सेवा छ भने १२९ एटीएम छन् । बैंकले १६ ओटा शाखाबाट वैदेशिक विनिमय कारोबार, ८० ओटा शाखाबाट राजस्व खाता सञ्चालन तथा ६१ ओटा शाखाबाट स्थानीय निकायको खाता सञ्चालन गर्नुका साथै पूर्ण बैँकिङ्ग सेवाहरू दिइरहेको छ ।