काठमाडौं । नेपाल शेर्पा संघका उपाध्यक्ष तेन्जी शेर्पाले आगामी सातौं महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो घोषणापत्र पनि सार्वजनिक गरे । सो अवसरमा उनले अब संघको नेतृत्वमा गुणात्मक परिवर्तन ल्याउने अठोट व्यक्त गरे ।
उनले सार्वजनिक गरेको घोषणापत्रमा संघलाई संस्थागत रूपमा सुदृढ गर्दै शेर्पा समुदायको हकहित, पहिचान र समुन्नत भविष्यका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरिएको छ ।
घोषणापत्रका १६ बुँदामा स्पष्ट अग्रगामी योजना समावेश छन्, जसमा संघीय संरचनाभित्र शेर्पालुङ स्थापनाको दीर्घकालीन रणनीति, शिक्षा, शीप अभिवृद्धि, महिला तथा युवा नेतृत्व विकास, जलवायु परिवर्तनबारे अन्तरराष्ट्रिय पैरवी, आर्थिक सशक्तीकरण, ‘ग्लोबल शेर्पा मञ्च’सँग सहकार्यजस्ता विषयहरू प्रमुख छन्।
‘यो उम्मेदवारी कुनै व्यक्तिगत आकांक्षा होइन, यो हाम्रो सामूहिक पहिचान र अधिकार सुरक्षित गर्दै भावी पुस्तालाई सुरक्षित भविष्य हस्तान्तरण गर्ने संकल्प हो,’ उनले भने ।
युवा व्यवसायी तथा समाजसेवी शेर्पाले सामाजिक सेवाको विभिन्न परियोजनाहरु सञ्चालन गरेका छन्। उनले गत वर्ष काठमाडौंको जगडोलमा शान्ति स्तूपा तथा ध्यान केन्द्रको निर्माण गरेका थिए । त्यस्तै, विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाद्वारा सञ्चालित परियोजनाहरूमा पनि उनले सहयोग गरेका छन् ।