मुलुक दिनानुदिन कृषि उत्पादनमा परनिर्भर हुँदै गएको छ । गत १० वर्षको तथ्यांकलाई विश्लेषण गर्दा औसत वार्षिक वृद्धिदर करीब २० प्रतिशतको रहेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार यस अवधिमा ८९३ थरीका विभिन्न प्रकारका कृषिजन्य वस्तुको आयात भएको छ । कृषिजन्य उत्पादनमा नेपालले प्रमुख रूपमा आयात गर्ने वस्तुहरूमा अन्न, तेलजन्य उत्पादन, तरकारी, दाल तथा गेडागुडी, खाद्य उद्योगका सहउत्पादन, फलफूल, चिनी, मिठाई, तेलहन, बीउबिजन तथा जडीबुटी, कफी, चिया, मसला, विविध खाद्य परिकार, अन्न र स्टार्चका उत्पादन, पेय पदार्थ, जीवित जनावर, सुर्ती र चुरोट, तरकारी, फलफूलका प्रशोधित उत्पादन, दुग्ध पदार्थ, माछा, चकलेट, अन्नका उत्पादन जस्तै मैदा स्टार्च आदि प्रमुख रूपमा रहेका छन् ।
चालू आर्थिक वर्षको प्रथम ८ महीनाको तथ्यांक हेर्दा पनि अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा अन्नको आयातमा २१ प्रतिशतको वृद्धि देखिएको छ ।
कृषिजन्य वस्तुको आयात भविष्यमा पनि अझ बढ्ने संकेत देखिएको छ । कृषि विकास मन्त्रालय, नेपाल कृषि अनुसन्धान परिषद्, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, विभिन्न गैरसरकारी संस्था, निजीक्षेत्र, प्रदेश र स्थानीय सरकारहरू, कृषि आबद्ध विश्वविद्यालय तथा शिक्षालयहरू सबैको प्रयास हुँदाहुँदै पनि कृषिजन्य वस्तुको आयातमा हरेक वर्ष हुँदै गरेको भारी वृद्धिले नेपालको कृषिक्षेत्रलाई एकदमै नयाँ ढंगले अघि बढाउनुपर्ने जति आवश्यक छ त्यत्ति नै आवश्यक छ कृषिक्षेत्रमा मुलुक दिनानुदिन परनिर्भर हुँदै जानुका कारणहरू निक्र्यौल गर्नु । सारांशमा भन्नुपर्दा मुलुक कृषिजन्य उत्पादनमा दिनानुदिन परनिर्भर हुँदै जानुमा पाँचओटा कारण देखिएका छन् – (क) कृषि मजदूरको कमी, (ख) कृषिमा नाफाको अनिश्चितता, (ग) कृषि पेशामा अनाकर्षण, (घ) कृषि सम्बद्ध पूर्वाधारको अपर्याप्तता, (ङ) संरक्षणको कमी । यी पाँचओटा पक्षको सम्बोधन नगरी कृषिजन्य वस्तुको बढ्दो आयातलाई नियन्त्रण गर्न सकिने अवस्था देखिँदैन ।