इलाम । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि र किसानको सम्मानले मात्र मुलुकको कृषि क्षेत्रको सुधार हुने बताएका छन् ।
इलामको रोङ गाउँपालिकाले आयोजना गरेको गुरु किसान घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले गाउँपालिकाले अघि सारेको काम सराहनीय रहेको र यस खालका कार्यक्रमहरूलाई संघीय सरकारले पनि स्वामित्व लिनुपर्ने उल्लेख गरे ।
स्थानीय सरकारले कृषि उत्पादन विकासका लागि ल्याएका नयाँ अवधारणाहरूको सिको सबैले गर्न जरुरी रहेको मन्त्री अधिकारीले उल्लेख गरे । कृषिमा ज्ञान र प्रविधि हस्तान्तरण महत्त्वपूर्ण हुने भएकाले यस्का लागि गुरु किसानको अवधारणा उपयुक्त हुने विश्वास मन्त्री अधिकारीले गरे । सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा लागिरहेको र आफूले कृषि र किसानको हित हुने कार्यक्रम समाबेश गर्न पहल गरीरहेको मन्त्री अधिकारीले बताए ।
'सीमित बजेटका बीच प्रतिफल बढी आउने गरि कार्य गर्नुपर्ने अहिलेको बाध्यताका बीच तीनै तहका सरकारको सहकार्य जरुरी छ,' मन्त्री अधिकारीले भने ।
सो अवसरमा मन्त्री अधिकारी र कोशी प्रदेशको कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्री खगेन्द्रसिं लिम्बुले संयुक्तरूपमा गाउँपालिकाले निर्माण गरेको कृषि प्रशोधन केन्द्रको पनि उदघाट्न गरे ।
केन्द्रमा गुन्द्रुक बनाउन आवश्यक उपकरणहरू रहेका छन् । गाउँपालिकाले गुन्द्रुकलाई ब्रान्डिङ गरि बजारमा लैजाने जनाएको छ ।
गाउँपालिकाले १२१ किसानलाई गुरु किसान घोषणा गर्दै परिचयपत्र समेत प्रदान गरेको छ, उनीहरूले स्थानीय किसानलाई खेती र प्रविधि सिकाउने गाउँपालिकाले जनाएको छ ।