काठमाडौँ । साना तथा मझौला कम्पनीका धितोपत्रको कारोबार छुट्टै प्लेटफर्ममा गर्न नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले विनियमावलीको मस्यौदा तयार पारेको छ ।
आर्थिक अभियानलाई प्राप्त विनियमावलीको मस्यौदामा धितोपत्र सूचीकरण, सूचीकृत कम्पनीले नेप्सेलाई दिनुपर्ने सूचना, धितोपत्र कारोबारसम्बन्धी व्यवस्था, धितोपत्र दलालको भूमिकालगायत प्रावधान छन् ।
नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले विनियमावलीको मस्यौदा तयार भए पनि नेप्से सञ्चालक समितिले स्वीकृत गर्न बाँकी रहेको बताए । ‘विनियमावलीको मस्यौदा सञ्चालक समितिले स्वीकृत गरेपछि नेपाल धितोपत्र बोर्डमा समेत स्वीकृतिका लागि पेश गर्नुपर्छ,’ उनले भने ।
बोर्डको स्वीकृतिपछि नेप्सेले तोकेको मितिदेखि विनियमावलीको व्यवस्था लागू हुनेछ । अचेल नेप्सेमा सबै खालका पूँजी भएका कम्पनीको धितोपत्र कारोबार एउटै प्लेटफर्ममा हुन्छ । उक्त कारोबारको गणना नेप्से परिसूचकमार्फत हुन्छ । आगामी दिनमा साना कम्पनीको कारोबार हालकै प्रणाली मातहतको छुट्टै प्लेटफर्ममा हुनेछ । साना र मझौला कम्पनीको परिसूचक पनि छुट्टै हुनेछ ।
साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१ अनुसार बढीमा २५ करोड रुपैयाँ चुक्ता पूँजी भएका कम्पनीको कारोबार मात्र नयाँ प्लेटफर्ममार्फत हुनेछ ।
के–के छन् प्रस्तावित व्यवस्था ?
विनियमावलीको मस्यौदामा धितोपत्र सूचीकरणदेखि र कारोबार गर्ने तरीकासम्मका प्रावधान छन् ।
सूचीकरण
नेप्सेमा धितोपत्रको सूचीकरण गराउन चाहने संगठित संस्थाले प्रचलित कानूनअनुसार धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी धितोपत्रको सार्वजनिक निष्कासन गरेको हुनुपर्छ । बोनस शेयर, हकप्रद शेयर तथा थप शेयर निष्कासन गरेमा त्यस्तो शेयर पनि कारोबारका लागि नेप्सेमा सूचीकरण गर्नुपर्छ । सूचीकरणको निवेदन पेश गर्दा धितोपत्र खरीद, विक्री, हक हस्तान्तरण वा नामसारी गर्न नपाउने गरी लकइन गरिएको भए त्यस्तो लकइन अवधिसमेत उल्लेख गर्नु पर्नेछ ।
कारोबार सञ्चालन सत्र
प्रारम्भिक कारोबार सत्र विहान १०ः३० देखि ११ः०० बजेसम्म हुने प्रस्ताव गरिएको छ । निरन्तर कारोबार सत्र भने बिहान ११ बजेदेखि अपराह्न ३ः०० बजेसम्म हुनेछ ।
मूल्य निर्धारण विधि
अपराह्न २ः४५ देखि ३ः०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिने उल्लेख छ । यस अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम कारोबार मूल्य मानिनेछ ।
मूल्य परिवर्तन सीमा
प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको ५ प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रहने गरी गर्नुपर्ने मस्यौदामा प्रस्ताव गरिएको छ । निरन्तर कारोबार सत्रमा पहिलो कारोबार गर्दा प्रारम्भिक सत्रमा कायम भएको मूल्यको २ प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रहने गरी आदेश प्रविष्ट गर्नुपर्ने प्रस्तावित विनियमावलीमा उल्लेख छ । प्रारम्भिक कारोबार सत्रमा कारोबार नभएका धितोपत्रका हकमा निरन्तर सत्रको शुरू मूल्य अघिल्लो दिनको अन्तिम मूल्यको २ प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही धितोपत्र दलालले आदेश प्रविष्ट गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । धितोपत्रको मूल्यमा अघिल्लो दिनको अन्तिम मूल्यको १० प्रतिशतभन्दा घटी वा बढी हुने गरी धितोपत्रको कारोबार हुने छैन ।
कारोबार एकाइ कति हुने ?
विनियमावलीको मस्यौदाअनुसार किनबेच हुने शेयरको न्यूनतम कारोबार एकाइ (बोर्ड लट) ५०० कित्ता हुनेछ । उल्लिखित कारोबार एकाइभन्दा कम परिमाणको धितोपत्र अड लट हुनेछ र त्यस्तो धितोपत्रको कारोबारलाई अड लट कारोबार भनिनेछ । न्यूनतम कारोबार एकाइ वा सोभन्दा बढी धितोपत्र स्वामित्व भएका धितोपत्र धनीले त्यस्तो धितोपत्रलाई अलगअलग अड लट बनाई विक्री गर्न नपाइने व्यवस्था मस्यौदामा गरिएको छ ।
बल्क कारोबारको व्यवस्था
ग्राहकले नेप्सेको पूर्वस्वीकृति लिई धितोपत्रको बल्क कारोबार गर्न सक्ने प्रस्तावित विनियमावलीमा उल्लेख छ । ‘बल्क कारोबार’ भन्नाले सम्बद्ध सूचीकृत संगठित संस्थाको चुक्ता पूँजीको २ प्रतिशत वा २५ लाख रुपैयाँमध्ये जुन बढी हुन्छ सोबमोजिमको कारोबार हुने प्रस्तावित विनियमावलीमा व्यवस्था छ ।
सर्किट ब्रेकरसम्बन्धी व्यवस्था
निरन्तर कारोबार शुरू भएको १ घण्टाभित्र नेप्से एसएमई परिसूचक ४ प्रतिशतले घटी वा बढी भएमा २० मिनेटका लागि सर्किट ब्रेकर लाग्ने प्रस्ताव गरिएको छ । प्रस्तावित विनियमावलीअनुसार निरन्तर कारोबार शुरू भएको २ घण्टाभित्र नेप्से एसएमई परिसूचक ६ प्रतिशतले घटी वा बढी भएमा ४० मिनेटका लागि सर्किट ब्रेकर लाग्नेछ । निरन्तर कारोबार शुरू भएको कुनै पनि समयमा नेप्से एसएमई परिसूचक ८ प्रतिशतले घटी वा बढी भएमा त्यसपछि उक्त दिनको कारोबार नै बन्द हुने प्रस्ताव पनि मस्यौदामा छ ।
नेप्सेलाई उपलब्ध गराउनुपर्ने सूचना
धितोपत्रको दाखिल खारेज बन्द (बुक क्लोज) हुनेसम्बन्धी सूचना त्यस्तो दाखिल खारेज हुनुभन्दा कम्तीमा ७ दिनअघि नै दिनुपर्ने प्रस्ताव पनि विनियमावलीको मस्यौदामा गरिएको छ । धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय भएमा सोही दिन वा भोलिपल्ट कारोबार शुरू हुनुअघि, नगद लाभांश, बोनस शेयर, हकप्रद शेयर वा थप शेयर निष्कासनसम्बन्धी निर्णय भएमा संगठित संस्थाको सञ्चालक समिति बैठक बसेको समयसमेत उल्लेख गरी उक्त निर्णय हुनासाथ र सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने कुनै घटना वा कारोबार भएमा तत्काल नेप्सेलाई जानकारी दिनुपर्ने व्यवस्था राखिएको छ । संगठित संस्थाको तत्काल कायम कुल सम्पत्तिको २५ प्रतिशतभन्दा बढी वा ५ करोड रुपैयाँ वा त्योभन्दा माथिको सम्पत्ति खरीद वा विक्रीसम्बन्धी निर्णय भएमा र कम्पनीले शेयरधनी कोषको ५० प्रतिशतभन्दा बढी हुने गरी ऋण लिने निर्णय गरेमा सोको जानकारी तत्काल नेप्सेलाई दिनुपर्नेछ ।
सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव, वाह्य लेखापरीक्षकमा हेरफेर भएमा सोको जानकारी तत्काल दिनुपर्ने र प्राकृतिक विपद्, आकस्मिक घटना, तालाबन्दी वा अन्य कुनै कारणले संगठित संस्थाको दैनिक काम कारबाही रोक्नुपर्ने भएमा त्यसको जानकारी यथासम्भव छिटो दिनुपर्ने प्रस्तावित विनियमावलीमा उल्लेख छ ।
धितोपत्रको दाखिल खारेज, नामसारी, नवीकरण, एकीकरण वा विभाजन रोक्नुपरेमा कारणसहित त्यसको जानकारी र संगठित संस्थाको व्यावसायिक प्रकृतिमा कुनै परिवर्तन गर्ने, त्यसकोे सबै वा आंशिक स्वामित्व विक्री गर्ने वा अन्य कुनै संस्थाको बहुमत स्वामित्व खरीद गर्ने कुनै प्रस्ताव पारित भएमा त्यससम्बन्धी जानकारी तत्काल नेप्सेलाई दिनुपर्नेछ ।
एउटै व्यक्ति वा संस्थाले संगठित संस्थाकोे ५ प्रतिशत वा त्योभन्दा बढी हुने गरी शेयर लिएमा सोको जानकारी र संगठित संस्थाको तत्काल कायम कुल सम्पत्तिको २५ प्रतिशतभन्दा बढी वा ५ करोड रुपैयाँ वा त्योभन्दा माथिको दायित्व वहन गर्नुपर्ने सम्भावना भएको मुद्दा अदालतमा दायर भएमा सोको विवरण तत्काल नेप्सेलाई दिनुपर्ने प्रस्ताव गरिएको छ । त्यसैगरी, सञ्चालक समितिले संस्था गाभ्ने/गाभिने वा विलय हुने वा खरीद गरी लिने वा टुक्रिने निर्णय गरेमा त्यस्तो निर्णय गरेकै दिन वा भोलिपल्ट कारोबार शुरू हुनुअघि नेप्सेलाई जानकारी दिनुपर्नेछ ।