बेरुत (लेबनान) । लेबनानमा गत बुधवार भएको विस्फोटमा २० जनाको मृत्यु भयो भने ४५० भन्दा बढी घाइते भए ।
त्यसको एक दिनपछि बिहीवार हिजबुल्लाहको गढ बेरुतमा अर्काे विस्फोट भयो । हिजबुल्लाहका सदस्यको दाबी अनुसार उक्त विस्फोटको तरिका अरु बेलाजस्तो थिएन । उक्त विस्फोट हिजबुल्लाहका सदस्यले प्रयोग गर्ने वाकी–टकीबाट गराइएको थियो ।
गत मंगलवार पनि लेबनानमा त्यस्तै तरिकाले विस्फोट गराइएको थियो । उक्त दिन हिजबुल्लाहका सदस्यहरूले प्रयोग गरेको पेजर एकसाथ विस्फोट भएको थियो, जसमा दुई बालबालिकासहित १२ जनाको मृत्यु भएको थियो भने २ हजार ८०० भन्दा बढी घाइते भएका थिए ।
लेबनानमा भएका पछिल्ला घटनाले विस्फोटमा पेजर र वाकी–टकी प्रयोग भएको देखाउँछ ।
हिजबुल्लाह निकट स्रोतका अनुसार विस्फोट भएका ठाउँमा पेजरको ब्याट्री छेउमा विस्फोटक पदार्थसहित पूर्व–प्रोग्राम गरिएको उपकरण राखिएको पाइएको छ ।
मिडल इस्ट इन्स्टिच्युटका चार्ल्स लिस्टरले बीबीसीसँग भनेका छन्, ‘विस्फोटक ब्याट्रीसँगै एउटा सानो प्लास्टिक लुकाइएको थियो, जसले कल वा पेजमार्फत विस्फोटन गर्न सक्छ ।’
नाम नबताउने शर्तमा हिजबुल्लाह निकट एक अधिकारीले बताएका छन्, ‘हालै आयात गरिएका उपकरणहरूमा विस्फोट गर्नका लागि पूर्व–प्रोग्राम गरिएको तथा ब्याट्रीको छेउमा विस्फोटक पदार्थ रहेको देखिन्छ,’ उनले भनेका छन् ।
त्यहाँ विस्फोट भएका पेजर हंगेरीको बीएसी कन्सल्टिङ केएफटीले उत्पादन गरेको तथा ताइवानी पेजर निर्माता कम्पनी गोल्ड अपोलोले हिजबुल्लाहलाई आपूर्ति गरेको बताइएको छ ।
इजरायलका रक्षामन्त्री योआभ ग्यालेन्टले बुधवार एक एयर बेसको भ्रमणका क्रममा वाकी–टकीहरूलाई लक्षित गरि विस्फोट गराइएको बताए । उनले भने, ‘हामी युद्धको नयाँ चरणको शुरुआतमा छौं ।’
वामपन्थी झुकाव भएको हारेट्ज अखबारका अमोस हरेलले पेजर र वाकी–टकी विस्फोटले इजरायल र हिजबुल्लाहलाई युद्धको संघारमा पुर्याएको बताएका छन् ।
अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले पत्रकारहरूसँग थप सैन्य अपरेसनहरूबाट यो संकटको समाधान हुनेमा आफूलाई विश्वास नलागेको बताए ।
एएफपी टिभीको फुटेजमा दक्षिण बेरुतमा हिजबुल्लाह लडाकुको अन्त्येष्टिका क्रममा अपराह्न विस्फोट हुँदा मानिसहरू ज्यान रक्षाका लागि दौडिरहेको देखिएको छ । विस्फोटका कारण लेबनान अस्तव्यस्त भएको छ ।
गत वर्षको अक्टोबर ७ मा हमासले गाजामा युद्ध चर्काएपछि इरान समर्थित हिजबुल्लाहले इजरायलसँग सीमापारबाट गोलाबारी गर्दै आएको छ ।
लेबनानका विदेशमन्त्री अब्दल्लाह बो हबिबले लेबनानको ‘सार्वभौमिकता र सुरक्षामाथिको निर्लज्ज आक्रमण’ खतरनाक घटना भएको र यसले व्यापक युद्धको सङ्केत दिन सक्ने चेतावनी दिएका छन् ।
हिजबुल्लाहले यस आपराधिक आक्रमणका लागि इजरायल पूर्णरूपमा जिम्मेवार रहेको बताएको छ ।
गाजा युद्धको करीब एक वर्षपछि क्षेत्रीय द्वन्द्वको डर बढेपछि लुफ्थान्सा र एयर फ्रान्सले तेल अभिभ, तेहरान र बेरुतका लागि बिहीवारसम्मका लागि उडान स्थगन गरेको घोषणा गरेका छन् । एएफपी/रासस