नेपालको प्रमुख टेलिकम कम्पनीमध्येको एक एनसेलमा लगानी गरेको आजियाटा ग्रूप बर्हाडले आफ्नो लगानी फिर्ता लैजाने घोषणा गरेको छ । नेपालमा व्यावसायिक चुनौतीहरू थपिएको भन्दै आजियाटाले आफ्नो सम्पत्ति र दायित्व विक्री गरी बाहिरिने घोषणा गरेको हो । धेरैले आजियाटाको बहिर्गमनले विदेशी लगानीका लागि नकारात्मक सन्देश प्रवाह हुने भनी चिन्ता प्रकट गरेको पाइन्छ । तर, सहज रूपमा उसले आफ्नो लगानी फिर्ता लैजान पायो भने त्यसले सकारात्मक सन्देश नै दिनेछ । जसरी कुनै विदेशी कम्पनीलाई लगानीका लागि सहजीकरण गरिन्छ त्यसैगरी बहिर्गमनका लागि पनि सहजीकरण गरिनुपर्छ जसले गर्दा अन्य लगानीकर्ता लगानीका आकर्षित हुन्छन् । तैपनि यो बहिर्गमनले केही प्रश्न भने उठाएको छ ।
कम्पनी नाफामै सञ्चालन भए पनि उसले आफ्नो लगानी झिक्नुका पछाडि विभिन्न कारण हुन सक्छन् । आम्दानी घट्दै गएपछि थप लगानी गरी व्यवसाय विस्तार गर्न कम्पनी इच्छुक हुन सक्छ । यसमा सरकारले सहयोग नगरेर यो कम्पनी बाहिरिन खोजेको हो भने त्यसले नकारात्मक सन्देश प्रवाह गर्छ । टेलिकम व्यवसाय खस्किरहेको सन्दर्भमा उसले कुनै नयाँ परियोजना ल्याएर नाफा कायम राख्न खोजेको हुन सक्छ । त्यस्तोमा सरकारले उसलाई सहयोग गर्न आवश्यक हुन्छ । त्यसो नभएर सरकारी असहयोगले गर्दा ऊ बाहिरिन खोजेको हो भने विदेशी लगानीका लागि यसले नकारात्मक सन्देश प्रवाह गर्छ । आजियाटाले नेपालमा व्यावसायिक चुनौती बढेको उल्लेख गरेको छ । त्यो व्यावसायिक चुनौती सरकारका कारण बढेको हो कि अन्य कारणले हो खुलाएको छैन । यस्तोमा पक्कै पनि केही समस्या उसले भोगेको छ भन्ने अनुमान गर्न सकिन्छ ।
दूरसञ्चार ऐन २०५३ अनुसार दूरसञ्चार सेवा सञ्चालनका लागि अनुमति लिएका कम्पनीको लाइसेन्स अवधि २५ वर्षको हुन्छ । २५ वर्षपछि ५० प्रतिशतभन्दा बढी विदेशी लगानी भएका कम्पनी पूर्ण रूपमा सरकारी स्वामित्वमा आउने व्यवस्था ऐनमा छ । यसअनुसार सन् २००४ मा स्थापना भएको एनसेल अबको अबको करीब ६ वर्षपछि सरकारी स्वामित्वमा आउनेछ । एनसेलमा ८० प्रतिशत आजियाटाको र २० प्रतिशत नेपालकै सुनिभेर क्यापिटल भेन्चरको लगानी रहेको छ । त्यसो हुँदा उसले यसको विकल्पमा अर्को कुनै कम्पनीमा लगानी गर्न खोज्दा सरकारबाट सहयोग नपाएको हुन सक्छ । अथवा ६ वर्षपछि छाड्नैपर्ने भएकाले अहिले छाड्न लागेको हुन सक्छ । त्यसो हुँदा आजियाटाका लागि बाहिरिनु सबभन्दा राम्रो विकल्प हुन सक्छ । नेपाली साझेदारको हिस्सा ५० प्रतिशतभन्दा बढी भएमा त्यसको लाइसेन्स नवीकरण हुन्छ भन्ने कानूनी व्याख्या गरिएको छ । यही प्रयोजनका लागि नेपाली साझेदार बढाउन पनि यसो गरिएको हुन सक्छ । यसमा अर्को पनि विवाद उठ्ने देखिन्छ । आजियाटाले जति मूल्यमा शेयर खरीद गरेको थियो, त्योभन्दा कम मूल्यमा किनबेच हुने करीब करीब निश्चित जस्तै छ । एक त एनसेलको आमदानी निकै घटेको छ भने अर्को यसको लाइसेन्सको अवधि पनि अब धेरै बाँकी छैन । यस्तो अवस्थामा उसले किनेको भन्दा सस्तोमा शेयर विक्री गर्यो भने पूँजीगत लाभकर तिर्नुपर्दैन । तर, यसमा सरकारी अधिकारीहरूले किचलो गर्ने सम्भावना देखिएको छ । कानूनी प्रावधानअनुसार उसले कर नतिर्ने अवस्था आयो भने त्यसमा विवाद भएमा त्यसले सकारात्मक सन्देश भने जाँदैन । विद्यमान कानूनी छिद्र प्रयोग गरेर यसको शेयर किनबेच हुने आशंका सरकारी अधिकारीमा रहेको पाइन्छ । यदि त्यस्तो हुन्छ भने कानून निर्माताकै गल्ती हुन्छ । यसमा नेपालले ध्यान दिनु पनि आवश्यक देखिन्छ ।
जुनसुकै कारणले ऊ बाहिरिन खोजे पनि यो शेयर हस्तान्तरण प्रक्रिया जति विवादरहित हुन्छ त्यति नै यसले लगानीका क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्छ । विगतमा टेलिया सोनेराले आजियाटालाई शेयर विक्री गर्दा पूँजीगत लाभकर छलेको भनी निकै विवाद भयो । पछि एनसेलले सरकारले तोकेको सबै कर तिर्यो । आजियाटाले कुनै विदेशी कम्पनीलाई आफ्नो शेयर विक्री गर्छ भने त्यसबारे अहिले नै नेपाल स्पष्ट हुनुपर्छ र पूँजीगत लाभकरबारे दुवै पक्षलाई स्पष्ट पार्न सक्नुपर्छ ।
तर, उसलाई लगानी लैजान नदिन विभिन्न बहाना देखाएर भाँजो हाल्ने वा विवादमा पार्ने काम भने गर्नु हुँदैन । कुनै पनि कम्पनीले शेयरधनी परिवर्तन हुनु नियमित प्रक्रिया नै हो । ठूला लगानी कम्पनीहरू यस्ता कम्पनीमा शेयर लगाउन र झिक्न स्वतन्त्र हुन्छन् । त्यसो हुँदा नेपालले यस्तो लगानी फिर्ता लैजान कुनै समस्या पैदा गरिदिनु हुँदैन । नेपालले लगानी सम्मेलनको तयारी थालिरहँदा यसरी विदेशी लगानी लैजाँदा सतर्क भने हुनुपर्छ । कुनै पनि सानो नकारात्मक सन्देश प्रवाह भयो भने लगानीकर्ता यहाँ लगानी गर्न आउँदैनन् । त्यसैले लगानीको वातावरण बनाउनुपर्छ र विदेशी लगानीका कम्पनीलाई यहाँ काम गर्न सहज वातावरण उपलब्ध गराइदिनु पनि पर्छ ।