काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड (Laxmi Mutual Fund) अन्तर्गत सञ्चालित तीन ओटा फण्डले चैत मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । लक्ष्मी उन्नति कोष, शुभ लक्ष्मी कोष र लक्ष्मी इक्वीटी फण्डले चैत मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका हुन् । विवरणअनुसार तीन ओटै फण्ड नोक्सानीमा रहेका छन् ।
चैत मसान्तसम्ममा लक्ष्मी उन्नति कोष रू. ७ करोड १ लाख, शुभ लक्ष्मी कोष रू. ९३ लाख ९ हजार र लक्ष्मी इक्वीटी फण्ड रू. २० करोड १७ लाख नोक्सानीमा रहेका हुन् । यी तीन ओटै फण्ड फागुन मसान्तमा पनि नोक्सानीमा थिए ।
फागुन महीनाको तुलनामा चैत महीनामा यी फण्डहरूको नोक्सानी केही घटेको छ । लक्ष्मी इक्वीटी फण्ड फागुन मसान्तसम्म रू. २१ करोड ३६ लाख, शुभ लक्ष्मी कोष रू. ९३ लाख ३४ हजार र लक्ष्मी उन्नति कोष रू. ७ करोड १३ लाख नोक्सानीमा थिए ।
फागुन महीनाको तुलनामा चैतमा लक्ष्मी उन्नति कोषको न्याभ केही बढेको छ । फागुन मसान्तसम्म फण्डको न्याभ १० रूपैयाँ २४ पैसा रहेकोमा चैत मसान्तसम्ममा १० रूपैयाँ २५ पैसा पुगेको हो । त्यस्तै यो फण्डले चैत मसान्तसम्म सूचीकृत शेयरमा रू. ३३ करोड ८८ लाख लगानी गरेको छ । यो लगानी फागुन मसान्तसम्म रू. ३६ करोड ५२ लाख थियो ।
त्यस्तै शुभ लक्ष्मी कोषको न्याभ भने स्थिर रहेको छ । फागुन मसान्तमा फण्डको न्याभ ९ रूपैयाँ ६७ पैसा रहेकोमा चैत मसान्तमा पनि सोही कायम भएको छ । यस फण्डको सूचीकृत शेयरमा लगानी फागुन महीनाको तुलनामा चैत महीनामा केही घटेको छ । फण्डले फागुन मसान्तमा रू. १८ करोड ३० लाख लगानी गरेकोमा चैत मसान्तसम्म भने रू. १८ करोड ११ लाख लगानी गरेको हो ।
लक्ष्मी इक्वीटी फण्डको न्याभ फागुन महीनाको तुलनामा चैतमा बढेको छ । फागुन मसान्तमा फण्डको न्याभ ९ रूपैयाँ ९३ पैसा रहेकोमा चैत मसान्तमा बढेर १० रूपैयाँ ३ पैसा पुगेको हो । त्यस्तै यस फण्डको न्याभसँगै सूचीकृत शेयरमा लगानी पनि बढेको छ । फागुन मसान्तसम्म फण्डले सूचीकृत शेयरमा रू. ७६ करोड ६८ लाख लगानी गरेकोमा चैत मसान्तमा रू. ७७ करोड ६७ लाख पुगेको हो ।