काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडले एकीकृत कारोबार शुरु गरेका छन् । बैंकहरूले आजदेखि ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’को नामबाट एकीकृत कारोबार शुरु गरेका हुन् ।
दुवै बैंकबीच मर्जरमा जानका लागि गत जेठ ८ गते अन्तिम सम्झौता भएको थियो । यी दुवै बैंकको गत असार ३ गते सम्पन्न साधारणसभाले मर्जरमा जाने विशेष प्रस्ताव पारित गरेका थिए । त्यस्तै नेपाल राष्ट्र बैंकले असार २२ गते मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।
मर्जरपश्चात् बैंकको केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौंमा रहेको छ । यी दुई बैंक समान हैसियतमा मर्ज भएका हुन् । हाल लक्ष्मी बैंकको चुक्ता पूँजी रू. ११ अर्ब ५५ करोडभन्दा बढी छ भने सनराइज बैंकको रू. १० अर्ब ११ करोडभन्दा बढी छ । दुईं बैंक एक भएपछि चुक्ता पूँजी रू. २१ अर्ब ६६ करोडभन्दा बढी कायम हुनेछ ।