काठमाडौं । लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषले मंसिर मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार फण्डले कात्तिक मसान्तको तुलनामा मंसिर मसान्तमा सूचीकृत शेयरमा लगानी बढाएको छ ।
कात्तिक मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. ६४ करोड ३२ लाख लगानी गरेकोमा मंसिर मसान्तमा बढाएर रू. ६६ करोड ५८ लाखभन्दा बढी पुर्याएको हो ।
त्यस्तै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) भने कात्तिकको तुलनामा मंसिरमा घटेको छ । कात्तिक मसान्तमा फण्डको न्याभ १२ रुपैयाँ ०२ पैसा रहेकोमा मंसिर मसान्तमा ११ रुपैयाँ ५० पैसामा कायम भएको हो ।
यस फण्डले मंसिर मसान्तसम्ममा रू. ९ करोड ५१ लाख नाफा कमाएको छ । यो नाफा कात्तिक मसान्तको तुलनामा भने २६ प्रतिशत कम हो । कात्तिक मसान्तमा फण्डले रू. १२ करोड ८७ लाख नाफा कमाएको थियो ।
मंसिरमा फण्डको आम्दनी घटेकाले नाफा घट्न पुगेको हो । कात्तिक मसान्तमा फण्डको कुल आम्दानी रू. १३ करोड ३७ लाख रहेकोमा मंसिर मसान्तमा रू. १० करोड १२ लाखमा सीमित भएको छ ।