काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेड स्थापनाको २४औं वर्षमा प्रवेश गरेको छ । २४औं वर्ष प्रवेशको अवसरमा बैंकले एक कार्यक्रम गरी २० वर्षभन्दा बढी निरन्तर सेवा गरिरहेका कर्मचारीलाई सम्मान गरेको छ । २३ वर्षसम्म बैंकको निरन्तर उन्नति एवं प्रगति तथा समृद्धिका लागि ग्राहक, नियमनकारी निकाय, शेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एवं शुभचिन्तकबाट पाएको सहयोगप्रति बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले आभार प्रकट गरे । आगामी दिनमा थप गुणस्तरीय बैंकिङ सेवा दिँदै उत्कृष्ट सुविधा प्रदान गर्ने उनको प्रतिबद्धता थियो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले ‘स्मार्ट बैंक’ मूल नाराका साथ बैंकले डिजिटल अर्थतन्त्रमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको बताए । स्मार्ट तरीकाबाट ग्राहकको चाहना तथा आवश्यकता बमोजिम नवीनतम, विश्वस्तरीय, भरपर्दो तथा गुणस्तरीय सेवा प्रदान गर्दै क्रमश: आफ्ना सेवालाई अझ सरल, सहज र विश्वसनीय बनाउने उनको भनाइ छ । बैंकले आफ्नो २३औं वार्षिकोत्सवको अवसरमा विभिन्न क्यासब्याक तथा अन्य अफर ल्याएको बताएको छ ।