काठमाडौं। चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महीनामा सरकारको पूँजीगत खर्च कमजोर देखिएको छ । सरकारी आम्दानी खर्चको लेखा राख्ने निकाय महालेखा नियन्त्रकको कार्यालयका अनुसार मङ्सिर मसान्तसम्ममा सरकारको विकास लक्षित पूँजीगत खर्च ४० अर्ब ८० करोड ६ लाख रुपैयाँ मात्र छ, यो वार्षिक विनियोजनको ११ दशमलव ५८ प्रतिशत मात्र हो । चालू आर्थिक वर्षका लागि पूँजीगत शीर्षकमा तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख विनियोजन गरिएको छ ।
सो अवधिमा चालू शीर्षकको खर्च भने ३१ दशमलव ८७ प्रतिशत छ । यो वर्षको उक्त शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख विनियोजन भएकोमा हालसम्म तीन खर्ब ६३ अर्ब ५५ करोड १४ लाख रुपैयाँ खर्च भएको महालेखाकोतथ्यांक छ ।
त्यसैगरी वित्तीय व्यवस्था शीर्षकमा छुट्ट्याइएको बजेट वार्षिक लक्ष्यको ४१ दशमलव ३२ प्रतिशत खर्च भएको छ । मुख्यगरी सार्वजनिक ऋणको साँवा र ब्याज तीर्न खर्च हुने वित्तीय व्यवस्था शीर्षकमा चालू आर्थिक वर्षका लागि तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख विनियोजन भएको थियो । उक्त शीर्षकमा हालसम्म एक खर्ब ५१ अर्ब ७६ करोड ५७ लाख बराबर खर्च भएको हो । समग्रमा सरकारको बजेट खर्च करीब ३० प्रतिशत रहेको छ ।
चालू आर्थिक वर्षको पहिलो पाँच महीनामा सरकारको आम्दानी पनि कमजोर देखिएको छ । मङ्सिर मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको २७ दशमलव ५७ प्रतिशत मात्र राजस्व उठाएको छ । मङ्सिर मसान्तसम्ममा चार खर्ब पाँच अर्ब ७७ करोड ३० लाख राजस्व संकलन भएको हो । चालू आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । यसैगरी यस वर्ष ५२ अर्ब ३२ करोड ६५ लाख वैदेशिक अनुदान लिने लक्ष्य राखिएकोमा हालसम्मको प्राप्ति शून्य छ ।