काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा दोस्रो त्रैमाससम्ममा रू. १६ करोड ६२ लाख रहेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा भने बैंकको वितरणयोग्य नाफा रू. २४ करोड ६९ लाख ऋणात्मक थियो ।
बैंकको खुद नाफा भने गत आवको तुलनामा चालू आवमा सामान्य वृद्धि भएको छ । गत आवमा बैंकले रू. ८० करोड ५३ लाख नाफा कमाएकोमा चालू आवमा रू. ८० करोड ७३ लाख पुगेको छ ।
बैंकको सञ्चालन नाफा गत वर्षको तुलनामा यस वर्ष २६ प्रतिशत वृद्धि भएको छ । गत वर्ष बैंकको सञ्चालन नाफा रू. १ अर्ब २७ करोड रहेकोमा यस वर्ष रू. १ अर्ब ६२ करोड पुगेको छ । त्यस्तै बैंकको खुद ब्याज आम्दानी पनि ७ प्रतिशत वृद्धि भएको छ । गत वर्ष रू. २ अर्ब ६३ करोड खुद ब्याज आम्दानी गरेकोमा यस वर्ष रू. २ अर्ब ८२ करोड पुगेको छ ।
बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ८९ पैसा, मूल्य आम्दानी अनुपात १६ दशमलव २७ गुणा र प्रतिशेयर नेटवर्थ रू. १५४ दशमलव २ र तरलता अनुपात २७ दशमलव ३४ प्रतिशत रहेको छ ।
कम्पनीको चुक्तापूँजी रू. ११ अर्ब ६२ करोड छ । कम्पनीले जगेडामा रू. ६ अर्ब १० करोड, रिटेन्ड अर्निङमा रू. १६ करोड ६२ लाख र शेयर प्रिमियममा रू. ३ करोड ८ लाख सञ्चिति गरेको छ ।