काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ । चैत ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले एफपीओ निष्कासन प्रस्तावसहित अन्य विविध प्रस्ताव पारितका लागि वैशाख २ गते छैटौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा काठमाडौंको बुढानिलकण्ठस्थित होटल अमुप्रस्थ ब्याङक्वेटमा बिहान ११ बजे हुनेछ ।
सभाले एफपीओ निष्कासन गर्ने प्रस्तावलाई पारित गर्दै अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जाने प्रस्तावलाई समेत स्वीकृति प्रदान गर्नेछ । यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । संस्थापक तर्फबाट चार जना र सर्वसाधारण तर्फबाट दुई जना सञ्चालक निर्वाचनको प्रस्ताव पनि सभाका लागि तय भएको छ ।
साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ । सभा प्रयोजनका लागि कम्पनीले चैत २२ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा चैत २१ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।