काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले आफ्ना दुई आयोजनामा यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाले कुनै क्षति नपुगेको बताएको छ ।
कम्पनीले सूचना जारी गर्दै यस कम्पनीबाट सञ्चालित जलविद्युत् आयोजनामा समेत बाढीपहिरोका कारण क्षति पुगेको भन्ने समाचारको खण्डन गरेको हो ।
कम्पनीले मिष्ट्री खोला जलविद्युत आयोजना (४२ मेगावाट) र तादीखोला जलविद्युत आयोजना (५ मेगावाट)मा कुनै किसिमको क्षति नभएको र दुवै आयोजनाबाट पूर्णरूपमा विद्युत उत्पादन भइरहेको जानकारी गराएको छ ।
कम्पनीले गत असार मसान्तसम्म विद्युत् विक्रीबाट ९७ करोड ६२ लाख रुपैयाँभन्दा बढी नाफा गरेको छ । यस अवधिसम्म कम्पनीको खुद नाफा २० करोड ३६ लाख रुपैयाँभन्दा बढी रहेको छ ।
गत असार मसान्तसम्म कम्पनीले ५ मेगावाट क्षमताको तादी खोला जलविद्युत आयोजनाबाट १२ करोड ७१ लाख रुपैयाँभन्दा बढी र ४२ मेगावाट क्षमताको मिष्ट्रीखोला जलविद्युत आयोजनाबाट ८४ करोड ९० लाख रुपैयाँभन्दा बढी विद्युत् विक्री आम्दानी गरेको बताएको छ ।