काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको २९ लाख ५९ हजार ८७० कित्ता शेयरको 'लक-इन' आगामी साउन २६ गतेपछि सकिँदै छ ।
संस्थापकतर्फको २५ लाख ७७ हजार कित्ता, आयोजना प्रभावित स्थानीयको ३ लाख ६८ हजार १४४ कित्ता र कर्मचारीतर्फको १४ हजार ७२६ कित्ता शेयरको 'लक-इन' आगामी साउन २६ गतेपछि सकिन लागेको हो ।
पछिल्लो समय शेयरको 'लक-इन' सकिनु एक महीनाअघि सार्वजनिक रूपमा सूचना जारी गरेर जानकारी गराउनुपर्ने व्यवस्थाबमोजिम शुक्रवार कम्पनीले सूचना जारी गरेको हो ।
यी शेयर कम्पनीले सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको मितिदेखि तीन वर्षसम्म 'लक-इन'मा रहने व्यवस्था छ । कम्पनीले २०७८ साउन २६ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको थियो ।
आयोजना प्रभावित स्थानीयमा २०७४ जेठ १७ गतेदेखि ३१ गतेसम्म आईपीओ विक्री गरेको कम्पनीले त्यसको चार वर्षपछि २०७८ साउन १४ गतेदेखि १९ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । 'लक-इन' अवधि समाप्त भएपछि कम्पनीको शेयर कारोबार गर्न मिल्नेछ ।
कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ ।