काठमाडौं । पछिल्लो एक महीनामा वित्त समूहको सूचक १८ दशमलव २२ प्रतिशत वृद्धि भएको छ । गत जेठ २० गते २ हजार १९५ दशमलव ६३ रहेको यस समूहको सूचक असार २० गते (गत बिहीवार) बढेर २ हजार ५९५ दशमलव ५९ पुगेको हो ।
पछिल्लो केही महीनायता लगानीकर्ताको आकर्षण कम भोल्यूम अर्थात् शेयर संख्या कम भएका कम्पनीको शेयरमा परेको छ । वित्त समूहका कम्पनीहरूको शेयर संख्या कम भएकाले लगानीकर्ताको रोजाईमा परेको जानकार बताउँछन् । यो समूहका कम्पनीको पूँजी कम भएकाले आपूर्ति पनि कम छ, यसले उक्त समूहको कम्पनीको शेयरमा आकर्षण भएको उनीहरूको भनाइ छ ।
०००
हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १५ ओटा वित्त कम्पनी सूचीकृत छन्, जसमध्ये गत आर्थिक वर्ष (आव)को मुनाफाबाट यस वर्ष तीन कम्पनीले मात्रै लाभांश दिएका छन् भने बाँकी १२ कम्पनीले लाभांश दिएनन् ।
तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यस समूहका अधिकांश कम्पनी घाटामा छन् । ती कम्पनीहरूको निष्क्रिय कर्जा पनि बढ्दो छ । तर, यस समूहका कम्पनीहरूको शेयर मूल्य प्रतिकित्ता ४ सयभन्दा माथि छ ।
यो अवस्थामा उक्त समूहका कम्पनीमा आकर्षण बढ्नुको अर्थ लगानीकर्ताले कम्पनीको वित्तीय विवरण नेहरी शेयर मूल्य मात्रै हेरेर लगानी गर्नु हो । तर, यसरी लगानी नगर्न विश्लेषकहरूको सुझाव छ । वित्तीय विवरण नहेरी लगानी गर्दा पैसा डुब्ने जोखिम हुने गरेको उनीहरू बताउँछन् ।
शेयर बजारमा कतिपयले अरुकै लहलहैमा लगानी गरिरहेका हुन्छन् । यसरी गरिएको लगानी डुब्ने जोखिम हुने विश्लेषकको भनाइ छ । त्यस्तै, निरन्तर घाटामा रहेका कम्पनीको शेयर महँगोमा खरीद गर्दा पनि लगानीकर्ता फस्न सम्भावना हुन्छ ।
त्यसकारण कम्पनीको वित्तीय विवरण राम्रोसँग केलाएर मात्र शेयर बजारमा लगानी गर्नुपर्ने विश्लेषक सुझाउँछन् ।
कुन समूहको सूचक कति ?
एक महीनामा सर्वाधिक बढ्ने समूहगत सूचकको दोस्रोमा रहेको विकास बैंकको सूचक ७ दशमलव ९८ प्रतिशत वृद्धि भएको छ । यस समूहको सूचक गत जेठ २० गते ४ हजार ६३ दशमलव ९३ विन्दुमा रहेकोमा असार २० गते बढेर ४ हजार ३८८ दशमलव ४ विन्दुमा पुगेको हो । यस समूहका अधिकांश कम्पनीको शेयर संख्या कम छ । सोही कारण पनि लगानीकर्ताको रोजाइमा परेको देखियो ।
यो सूचीमा तेस्रोमा रहेको व्यापार समूहको सूचक ६ दशमलव २४ प्रतिशत वृद्धि भएको छ । यस समूहको सूचक गत जेठ २० गते २ हजार ९२९ दशमलव ५९ रहेकोमा असार २० गते बढेर ३ हजार ११२ दशमलव ३४ पुगेको छ ।
यस अवधिमा घट्नेमा अन्य समूह र उत्पादन तथा प्रशोधन समूहको सूचक घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको छ । अन्य समूहको सूचक २ दशमलव ५५ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको सूचक १ दशमलव ७६ प्रतिशत वृद्धि भएको छ ।
कति बढ्यो परिसूचक ?
पछिल्लो एक महीनामा नेप्से परिसूचक पनि केही बढेको छ । गत जेठ २० गते नेप्से परिसूचक २ हजार ८३ दशमलव ०४ रहेकोमा असार २० गते २ हजार ११९ दशमलव ७० पुगेको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता समीकरणका लागि सहकार्यको सहमति भएसँगै बजार बढ्न थालेको हो । नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्व, आर्थिक सुधारसँगै पूँजी बजारमा पनि नीतिगत सुधार हुने लगानीकर्ताको अपेक्षा छ ।
समूहको नाम |
असार २० गतेको सूचक |
जेठ २० गतेको सूचक |
घटबढ प्रतिशत |
वित्त |
2595.59 |
2195.63 |
18.22 |
विकास बैंक |
4388.4 |
4063.93 |
7.98 |
ब्यापार |
3112.34 |
2929.59 |
6.24 |
लघुवित्त |
4547.23 |
4380.72 |
3.80 |
लगानी |
78.69 |
75.87 |
3.72 |
जलविद्युत् |
2605.66 |
2517.01 |
3.52 |
म्युचुअल फण्ड |
19.12 |
18.82 |
1.59 |
होटल तथा पर्यटन |
5422.27 |
5365.89 |
1.05 |
निर्जीवन बीमा |
10734.66 |
10645.97 |
0.83 |
जीवन बीमा |
10210.89 |
10170.74 |
0.39 |
बैकिङ्ग |
1134.37 |
1131.72 |
0.23 |
उत्पादन तथा प्रशोधन |
6470.54 |
6586.55 |
-1.76 |
अन्य |
1609.97 |
1652.02 |
-2.55 |
स्रोत : नेप्से