आरसीटी र थ्रीस्टार विजयी
मङ्सिर २६, काठमाडौं (अस) । राजधानीमा जारी शहीद स्मारक रेडबुल ए डिभिजन फूटबल प्रतियोगितामा प्रायोजकविना नै स्तरीय खेल प्रस्तुत गर्दै अङ्कतालिकाको शीर्षस्थानमा रहेको मच्छिन्द्र फूटबल क्लबलाई एनएमबी बैङ्कले साथ दिने भएको छ । एनएमबीले मच्छिन्द्रलाई वार्षिक रू. १० लाखमा प्रायोजन गर्न लागेको हो । मच्छिन्द्रले ५ खेलमार्फत १३ अङ्क जोडेको छ ।
जारी लीगमा सबै क्लबले ५/५ खेल खेलिसक्दा पनि उपाधि कसले जित्ला र कुनकुन तीन टोली रेलीगेशनमा पर्लान् भनेर अनुमान गर्न सकिने अवस्था भने छैन । हालसम्म अङ्कतालिकामा खाता खोल्न नसकेको बौद्ध फूटबल क्लबबाहेक अर्को कुन टोली घटुवा हुने हो, यसै भन्न नसकिने देखिएको छ । बौद्धले पनि अझै १० खेल खेल्न बाँकी नै छ । विभागीय ३ टोली नेपाल आर्मी, एपीएफ र नेपाल प्रहरीले आफ्नो खेलमा अपेक्षाकृत सुधार ल्याए पनि उपाधिको दाबेदारी भने प्रस्तुत गर्न सकेका छैनन् ।
यसैबीच, मङ्गलवारको पहिलो खेलमा म्याकडोवेल्स आरसीटीले सामसुङ जावलाखेल युथ क्लबलाई ०–१ गोलअन्तरले हराएको छ । एक खेलाडीले रातो कार्ड पाएपछि १० जनामा सीमित बन्न पुगेको आरसीटीलाई जावलाखेलले दबाबमा राखे पनि गोल भने गर्न सकेन । निर्णायक गोल आरसीटीका अमर डङ्गोलले गरेका थिए । यो जितसँगै आरसीटी पनि १३ अङ्कसहित लीगको दोस्रो स्थानमा उक्लिएको छ । अब गोलआधारमा मात्रै मच्छिन्द्र शीर्षस्थानमा छ । हालसम्म ५ खेल खेलिसकेको जावलाखेलको भने ६ अङ्कमात्रै छ ।
यती हिमालयन शेर्पा र थ्रीस्टार क्लबबीच सम्पन्न सोही दिनको अर्को खेलमा भने थ्रीस्टार ३–२ गोलअन्तरले विजयी भएको छ । यसबाट थ्रीस्टारको उपाधिको दाबेदारीमा बल पुगेको छ । थ्रीस्टार १२ अङ्कसहित तेस्रो स्थानमा उक्लिएको छ । थ्रीस्टारका लागि कप्तान सन्तोष साहुखलले ह्याट्रिक गरेका थिए । तुलनात्मक रूपमा बलियो मानिएको हिमालयन शेर्पा भने ५ खेलबाट ४ अङ्क मै सीमित हुन पुगेको छ । जारी लीगमा सबैभन्दा बढी ५ गोल गर्नेमा अब आरसीटीका डङ्गोल र थ्रीस्टारका साहुखलले आफ्नो नाम दर्ता गराएका छन् ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.