जनकपुरधाम । चालू आर्थिक वर्ष सकिन केही दिन बाँकी रहँदा मधेश प्रदेश सरकारले करीब एक तिहाइ बजेट मात्र खर्च गर्न सकेको छ । चालू आर्थिक वर्ष २०८०/८१ को असार १६ गतेसम्ममा प्रदेश सरकारले कुल बजेटको ३२ प्रतिशत मात्र खर्च गरेको अर्थ मन्त्रालयले बताएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय, मधेश प्रदेशका अनुसार प्रदेशको कुल बजेट ४४ अर्ब ११ करोड ४६ लाख रुपैयाँ रहेकोमा मध्य असारसम्ममा १४ अर्ब १४ करोड ५८ लाख रुपैयाँ मात्र खर्च भएको छ ।
प्रदेश सरकारले चालूतर्फ १८ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेकोमा ३५ दशमलव ५५ प्रतिशत र पूँजीगत २५ अर्ब ५७ करोड ४५ लाख बजेटमध्ये
२९ दशमलव ५५ प्रतिशत खर्च भएको छ ।
मधेशमा जनसंख्याको अनुपातमा बजेट नदिएको भन्दै मुख्यमन्त्री र मन्त्रीहरूले संघीय सरकारको आलोचना गर्दै आएका छन् । तर प्रदेश सरकारले आफैले ल्याएको बजेट समेत आधा पनि खर्च गर्न सकेको छैन ।
संघीय तहमा हुने सत्ता परिवर्तन, प्रदेशका मुख्यमन्त्रीले पटक पटक विश्वासको मत लिनुपर्ने अवस्था, अस्थिर सरकार जस्ता कारण अपेक्षित रूपमा बजेट खर्च हुन नसकेको मधेश प्रदेशका अर्थ मन्त्रालयका निमित्त सचिव अजयकुमार कर्णले बताए ।
आर्थिक वर्ष २०७९/८० मा प्रदेशको बजेट ४७ अर्ब २ करोड ५० लाख रुपैयाँ बराबर रहेकोमा २७ अर्ब ३३ लाख रुपैयाँ खर्च भएको थियो । आर्थिक वर्ष २०७८/७९ मा आधा बजेट नै फ्रिज भएको थियो । त्यस आर्थिक वर्षमा ३४ अर्ब ८८ करोड ९८ लाख रुपैयाँको बजेटमध्ये १७ अर्ब ७६ करोड ३६ लाख रुपैयाँ मात्र खर्च भएको थियो ।