जनकपुरधाम। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मंगलवार प्रदेशसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । प्रदेशको कृषि, स्वास्थ्य, उद्योग र रोजगारी सृजनालाई नीति तथा कार्यक्रमको मुख्य प्राथमिकतामा राखिएको छ ।
यसैगरी मानवीय क्षमता विकास, पूर्वाधार निर्माण, उद्यमशीलता, गरीबी न्यूनीकरण, दिगो विकास तथा पर्यावरण संरक्षण र सुशासनको प्रत्याभूतिलाई समेत नीति तथा कार्यक्रमले जोड दिएको छ । कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व बढाउन निर्वाहमुखी खेती प्रणालीलाई व्यावसायिक बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ । किसानलाई प्रत्यक्ष लाभ हुनेगरी समयमै मल, उन्नत बीउबिजन, प्राविधिक सेवा तथा अन्य आवश्यक सामग्री उपलब्ध गराउनुका साथै वस्तुपरक ढंगले अनुदान दिने सरकारको नीति छ । प्रदेशको तथ्यांक प्रभावकारी बनाउन आफ्नै डेटा बैंक स्थापना, दिगो विकासको योजना तयारी, लगानीमैत्री वातावरण तयार पार्ने, भ्रष्टाचार नियन्त्रण, आर्थिक वर्षको अन्त्यमा खर्च गर्ने प्रवृत्ति न्यूनीकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यसैगरी प्रादेशिक विकास बैंकको स्थापना गरी आयोजनाको दोहोरोपना नियन्त्रण गर्ने नीति लिइएको छ ।
तथ्यांक प्रभावकारी बनाउन आफ्नै डेटा बैंक स्थापना, दिगो विकासको योजना तयारी, लगानीमैत्री वातावरण तयार पार्ने, भ्रष्टाचार नियन्त्रण, आर्थिक वर्षको अन्त्यमा खर्च गर्ने प्रवृत्ति न्यूनीकरण गरिने
प्रदेश सरकारले सञ्चार क्षेत्र र पत्रकारहितको कार्यक्रमलाई समेत प्राथमिकतामा राख्दै सञ्चारमैत्री प्रदेश बनाउने उल्लेख गरेको छ । समानुपातिक विज्ञापन, सामुदायिक रेडियो सञ्जाल निर्माण गरी रेडियोकर्मीलाई दक्षता प्रदान गर्नुको साथै पत्रकारका लागि स्वास्थ्य बीमा र दुर्घटना बीमाको व्यवस्था गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
मुख्यमन्त्री हरित प्रदेश योजनाअन्तर्गत सार्वजनिक ठाउँहरूमा वृक्षरोपण तथा प्रादेशिक सडकको निर्माणमा जोड दिने सरकारको नीति छ । दलित, विपन्न परिवारलाई स्थानीय तहको सिफारिशमा नि:शुल्क उपचारको व्यवस्था गरिने भएको छ । ‘मेरो स्वास्थ्य : मेरो जिम्मेवारी’ नारा सार्थक बनाउन स्वास्थ्य निरोग सेवा सञ्चालन र प्रदेश सरकार मातहतका अस्पतालमा अस्पताल बोर्डको गठन गर्ने विषय पनि नीति तथा कार्यक्रममा परेका छन् ।
प्रादेशिक अस्पताल जनकपुरधामको स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालनमा रहेको जनकपुरधामको प्रादेशिक अस्पताललाई ५०० शøयाको बनाउने, प्रतिष्ठानले दिँदै आएको शिक्षाको स्तर बढाई एमबिबिएससहितको पढाइ सञ्चालन र विद्युतीय सवारीसाधनको प्रयोग बढाउन पूर्व–पश्चिम राजमार्गमा चार्जिङ स्टेशन स्थापना गर्ने लगायत विषय नीति तथा कार्यक्रममा समेटिएका छन् ।