काठमाडौं । प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सोमवार मध्यरातमा राष्ट्रिय सहमतिको सरकार बनाउन सहमति भएको छ ।
एमाले नेता शंकर पोख्रेलले राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने, तदनुरूपका कानून समेत निर्माण गर्ने, एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन दुई दलबीच समझदारी भएको उनले बताएका छन् । उनले यो प्रक्रियामा सामेल हुन चाहने अन्य दललाई पनि नयाँ बन्ने सरकारमा समावेश गरिने बताएका छन् ।
सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले भनेका छन्, 'राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरुपका कानून समेत निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा (एमाले) र नेपाली कांग्रेसका बीचमा समझदारी । यस प्रक्रियामा सहमत दलहरूलाई राष्ट्रिय सरकारमा समावेश गरिने ।'
नेकपा माओवादी केन्द्रसँग सत्ता साझेदारी गर्दै आएको एमालेले पछिल्लो बजेट माओवादीको मात्रै भएको भन्दै असन्तुष्टि राख्दै आएको थियो । यससँगै एमाले नेपाल धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति, राजदूत नियुक्तिप्रति असन्तुष्ट थियो भने सरकारका गृहमन्त्री लामिछानेको कार्यशैलीप्रति पनि रूष्ट थियो ।