काठमाडौं । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्वसचिव गजेन्द्रकुमार ठाकुरलाई ८ वर्ष १ महीना कैद सजाय तोकेको छ ।
विशेषका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको सोमवार (आज)को इजलासले उक्त सजाय तोकेको हो । उक्त मुद्दामा दोषी ठहर भएका बाँकी ३ जनामध्ये तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेललाई ८ वर्ष १ महीना र परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मालाई ६ वर्ष कैद तोकिएको छ । उनलाई ८ वर्ष कैद सजाय तोकिए पनि ज्येष्ठ नागरिक भएका कारण २ वर्ष छूट दिइएको छ ।
विशेषले गत भदौ २४ गते उक्त मुद्दामा ४ जनालाई दोषी ठहर गरेको थियो । उक्त मुद्दामा दोषी ठहर गरिएकाको आज कैद सजाय तोकिएको हो ।
उक्त मुद्दामा ठाकुर र कँडेलसँग जनही १० करोड १० लाख ६१ हजार रुपैयाँ तथा देवकोटा र शर्मासँग जनही २ करोड ९५ लाख ६५ हजार ६०३ रुपैयाँ बिगो असुल गर्न अदालतले आदेश दिएको छ ।
विशेषले परामर्शदाता कम्पनी इप्टिसा र बेट्ससँग जनही ६ करोड २१ लाख ९३ हजार ५९६ रुपैयाँ बिगो असुल्न आदेश दिएको छ । यस्तै, इटालियन ठेकेदार कम्पनी सीएमसीलाई २६ करोड ११ लाख बिगो असुल्न आदेश दिएको छ ।
मेलम्ची खानेपानी विकास समितिका तत्कालीन अध्यक्षहरू डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय र मुकुन्दप्रसाद पौडेलले सफाइ पाएका छन् । समितिका तत्कालीन सदस्य रुद्रसिंह तामाङ, चन्द्रबहादुर थापा र कार्यकारी निर्देशक घनश्याम भट्टराईले पनि सफाइ पाए ।
मेलम्ची भ्रष्टाचार मुद्दामा कसलाई कति कैद सजाय/जरिवाना ?
क्र.सं. | नाम | पद | कैद सजाय | जरिवाना (रू.) |
१ | गजेन्द्रकुमार ठाकुर | तत्कालीन सचिव | ८ वर्ष १ महीना | १० करोड १० लाख ६१ हजार |
२ | सूर्यराज कँडेल | तत्कालीन कार्यकारी निर्देशक | ८ वर्ष १ महीना | १० करोड १० लाख ६१ हजार |
३ | रामचन्द्र देवकोटा | तत्कालीन कार्यकारी निर्देशक | ८ वर्ष १ महीना | २ करोड ९५ लाख ६५ हजार ६०३ |
४ | शिवकुमार शर्मा | टिम लिडर (परामर्शदाता इप्टिसा) | ६ वर्ष | २ करोड ९५ लाख ६५ हजार ६०३ |
५ | इप्टिसा | परामर्शदाता कम्पनी | – | ६ करोड २१ लाख ९३ हजार ५९६ |
६ | बेट्स | परामर्शदाता कम्पनी | – | ६ करोड २१ लाख ९३ हजार ५९६ |
७ | सीएमसी | ठेकेदार कम्पनी | – | २६ करोड ११ लाख |
स्रोत : विशेष अदालत