काठमाडौं। महालक्ष्मी विकास बैंकको ३० औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४’ को तेस्रो संस्करणका विजेतालाई पुरस्कार वितरण गरिएको छ । गत मंगलवारदेखि बिहीवारसम्म इमाडोलस्थित बलपार्क स्पोर्ट्स इभेन्ट्स एण्ड एकेडेमीमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंकले जितेको छ । प्रतियोगितामा आइसिएफसि फाइनान्सले द्वितीय स्थान हासिल गरेको बताइएको छ । प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टिम सहभागी थिए ।
सोअवसरमा उत्कृष्ट फिल्डर प्राइम कमर्सियल बैंकका विवेक डाली, उत्कृष्ट विकेट–किपर माछापुच्छे्र बैंकका निशेस केसी, उत्कृष्ट बलर एभरेष्ट बैंकका रोशन महत, उत्कृष्ट ब्याट्सम्यान एनएमबी बैंकका अनिल बर्तौला, उत्कृष्ट खेलाडी आइसिएफसि फाइनान्सका सुरज तिमिल्सिनालाई ट्रफी प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले क्रिकेट लिग लगायत अन्य सामूहिक खेलले बैंक तथा वित्तीय संस्थाबीच भाइचारा, आत्मीयता, सद्भाव र मित्रता बढाउन थप सहयोग पुग्ने बताए ।
महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्यायले खेलमा हार र जित स्वभाविक प्रक्रिया रहेको र यस्ता खेलले कर्मचारीमा समूह निर्माण गर्न, समूहमा नेतृत्वदायी भूमिका निर्वाह गर्न, कार्यकुशलतामा अभिवृद्धि गर्न मद्दत पुर्याउने बताए ।