नेतृत्व तहमा यदि महिलाको प्रभावकारी भूमिका हुने हो भने त्यसले वाणिज्य बैंकहरूको व्यवसाय वृद्धिमा उल्लेख्य रूपमा योगदान दिने गर्छ । अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ) द्वारा सन् २०१९मा गरिएको एक अध्ययनअनुसार विश्वव्यापी रूपमा नै बैंकहरूमा उच्च तहमा महिला कर्मचारीको प्रतिनिधित्व वृद्धि गर्दा बैंकहरूको नाफामा २० प्रतिशतसम्म वृद्धि भएको थियो । अध्ययनको निष्कर्षअनुसार जुन बैंकमा १५ प्रतिशतभन्दा बढी महिला उच्चतहमा कार्यरत छन्, त्यहाँ उच्च तहमा १० प्रतिशतभन्दा कम महिला भएको बैंकको तुलनामा झन्डै ३३ प्रतिशत बढी प्रतिफल आर्जन हुने गरेको देखिन्छ । यति मात्र होइन, स्वीट्जरल्यान्डको क्रेडिट सुइस बैंकले सन् २०१६ मा गरेको एक अनुसन्धानले त लेखापरीक्षण, जोखिम व्यवस्थापनजस्ता निरीक्षकीय तथा सुपरिवेक्षकीय भूमिकामा उल्लेख्य मात्रामा महिलाको उपस्थिति भएका बैंकको जोखिम व्यवस्थापन कार्य त्यस्ता कार्यमा पुरूष संलग्न भएका अन्य बैंकभन्दा बढी प्रभावकारी र परिणाममुखी रहेको देखाएको छ । प्रत्यक्ष रूपमा ग्राहकलाई सेवा दिने कुरामा पनि महिलाको सहभागितालाई आम रूपमा बढी नै प्रभावकारी मानिन्छ ।
यिनै सन्दर्भको आलोकमा ‘हालै मात्र अन्तरराष्ट्रिय वित्त कम्पनी (इन्टरनेशनल फाइनान्स कम्पनी–आईएफसी) ले दक्षिण एशियाका तीन देशका निजी बैंकहरूमा रहेको महिलाको उपस्थितिलाई आधार बनाएर तुलनात्मक रूपमा अध्ययन गरी महिला बैंकरहरूको नेतृत्व तहमा रहेको अवस्थिति र तिनले वृत्ति विकासका लागि प्राप्त गर्ने अवसरको बारेमा यस्तै रोचक तथ्यसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । यो लेख सोही प्रतिवेदनका आधारमा तयार गरिएको छ ।
आफूभन्दा उच्च पदमा रहेकाहरूबाट मात्र होइन, सहकर्मी तथा आफूअन्तर्गतका कनिष्ठ कर्मचारीबाट समेत महिला भएकै कारण आफूलाई उपयुक्त रूपमा सम्मानजनक व्यवहार नगरिने जस्ता ससाना अवयवले समेत महिलामाथि विभेदको भाव जागृत गराउने गरेको अध्ययनले देखाएको छ ।
दक्षिण एशियाका नेपाललगायत बंगलादेश र श्रीलंकाका गरी जम्मा २० ओटा निजी बैंकका ४ हजार ६ सय कर्मचारीमार्फत गरिएको अध्ययनले ती देशमा रहेका बैंकमा महिला नेतृत्वको वर्तमान अवस्था र सम्भावनाका साथै महिलाले भोग्नुपरेका व्यवधानहरूको बारेमा समेत बारेमा चाख लाग्दा तथ्यहरू प्रस्तुत गरेको छ । साथै बैंकहरूले महिला नेतृत्वलाई सहयोग पुग्ने गरी अवलम्बन गरेका नीति, नियम एवं प्रक्रियाहरूका साथै बैंकलगायत अन्य सम्बद्ध पक्षहरूले समेत महिला नेतृत्वलाई प्रोत्साहन र उत्प्रेरित गर्ने गरी निर्वाह गर्नुपर्ने भूमिकालाई पनि अध्ययनमा महत्त्वका साथ उल्लेख गरिएको छ ।
अध्ययन गरिएका यी देशमा भएका कुल बैंकिङ जनशक्तिमध्ये औसतमा ३० प्रतिशत जनशक्ति महिला रहेको देखिन्छ । विश्वव्यापी रूपमा यस्तो औसत ५२ प्रतिशत रहेको बताइन्छ । विश्व परिवेशको औसतलाई यी तीन देशको अवस्थासँग तुलना गर्ने हो भने नेपालको अवस्था अन्य बाँकी देशको तुलनामा उल्लेख्य रूपमा राम्रो रहेको पाइन्छ । नेपालमा बैंकिङ क्षेत्रमा कार्यरत जनशक्तिमध्ये ४२ प्रतिशत जनशक्ति महिला रहेका छन् जब कि नेपालभन्दा केही पछि रहेको श्रीलंकामा महिला बैंकरहरूको अंश केवल ३८ प्रतिशत मात्र रहेको छ । अझ बंगलादेशमा त सम्पूर्ण बैंकिङ जनशक्तिको केवल १८ प्रतिशत अंश मात्र महिलाले ओगटेको प्रतिवेदनले उल्लेख गरेको छ ।
नेपाल र बंगलादेशमा पुरूष बैंकरको तुलनामा महिला बैंकरहरूले कम मात्र तालीम तथा कोचिङ, मेन्टरिङजस्ता अवसर प्राप्त गरेका छन् । तर, यही कुरा श्रीलंकाको सन्दर्भमा भने महिला पुरूष दुवै बैंकरहरूले यस्तो अवसर लगभग समान रूपमा प्राप्त गर्ने गरेको अध्ययनले देखाएको छ ।
यी तीनै देशका बैंकमा महिलामा नेतृत्वदायी भूमिका निर्वाह गर्ने हुटहुटी देखिए पनि पुरूषहरूको तुलनामा उनीहरूको वृत्ति–विकासको दर पुरूष सहकर्मीहरूको तुलनामा कम मात्र रहेको छ । मौद्रिक एवं वित्तीय संस्थासम्बन्धी फोरमले २ वर्षअघिको एक अध्ययनअनुसार विश्व परिवेशमा बैंकिङ क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेका महिलाको अंश २८ प्रतिशतको हाराहारीमा रहेको परिप्रेक्ष्यमा यी तीन देशमा भने औसतमा १८ प्रतिशत महिला बैंकर मात्र नेतृत्वदायी भूमिकामा रहेका छन् । शुरूको प्रवेश–विन्दुभन्दा जति माथि चढ्दै गयो त्यति नै महिलाको अंश पुरूषको तुलनामा कम कम हुँदै जाने समान प्रवृत्ति यी तीनै देशमा देखिएको पनि अध्ययनले प्रतिवेदनले उल्लेख गरेको छ । यसको ज्वलन्त उदाहरणका रूपमा श्रीलंकामा प्रवेश विन्दुमा ४० प्रतिशतको अंश ओगट्ने महिला बैंकरहरूमध्ये व्यवस्थापकीय तहमा पुग्दा झरेर २७ प्रतिशतमा सीमित हुन पुगेका देखिन्छन् भने उच्च व्यवस्थापकीय तहमा पुग्दासम्म त यो अंश अझ झरेर २० प्रतिशतमा सीमित रहन्छ । समग्रमा यी तीन देशमा प्रवेश विन्दुमा औसतमा ३२ प्रतिशत महिलाको अंश रहेकोमा मध्य–व्यवस्थापकीय तहमा आइपुग्दा यो अंश औसतमा २१ प्रतिशत मात्र कायम भएको देखिन्छ्र जति माथि गयो त्यति यस्तो प्रतिशत घट्दै गएर उच्च व्यवस्थापकीय तहमा र सञ्चालक समितिसम्ममा पुग्दा भने यी तीन देशमा औसतमा १८ प्रतिशत मात्र महिलाहरूको संलग्नता रहेको देखिएको छ ।
प्रतिनिधित्वको अंशमा भिन्नता रहे पनि यी तीनै देशहरूमा महिला बैंकरहरूले सामना गरिरहेका अनेकन चुनौतीहरू भने मिल्दाजुल्दा छन् । अध्ययन गरिएका तीनै देशहरूमा महिला बैंकरहरूलाई वृत्ति–विकासमा अगाडि बढ्न व्यवधान खडा गर्ने यस्ता चुनौतीहरू जटिल प्रकारका र एकआपसमा जेलिएका भए पनि सबै चुनौतीहरू समान प्रकृतिका रहेका रहेका छन् । अध्ययन प्रतिवेदनले यस्ता चुनौतीपूर्ण व्यवधानहरूलाई ५ वर्गमा वर्गीकरण गरेको छ ।
असमान नियुक्ति
महिलाहरूले बेहोर्नु परेका व्यवधानमध्ये सबैभन्दा पहिलो व्यवधानका रूपमा असमान नियुक्तिलाई पहिलो नम्बरमा राखिएको छ । अध्ययन गरिएका तीनै देशमा बैंकिङ क्षेत्रमा कर्मचारी नियुक्ति गर्दा लिंगीय समानता कायम गर्ने गरी गम्भीर प्रयास गरिएको पाइँदैन । अध्ययन गरिएका बैंकहरूमा हेर्दा ४१ प्रतिशत महिला सहभागीले र १७ प्रतिशत पुरूष सहभागीले कर्मचारी नियुक्त गर्दा महिला र पुरूषहरूका बीचमा विभेद गरिने जनाएका छन् । खास गरी शारीरिक रूपमा पनि अपेक्षाकृत कमजोर हुने र पारिवारिक दायित्वको बोझ पनि हुने भएकाले नियुक्ति प्रक्रियामा नजानिँदो ढंगले पुरूष कर्मचारीहरूप्रति सकारात्मक पक्षधरताका साथ उनीहरूलाई नै छनोटमा प्राथमिकता दिने गरिएको पनि अध्ययनले दर्शाएको छ ।
साथै कतिपय देशमा प्रचलनमा रहेका बैंकिङ नीति एवं प्रक्रियाका कारणले पनि बैंकिङ क्षेत्रमा प्रवेश गर्न महिलाहरूले व्यवधान महसूस गर्नु परिरहेको छ । खास गरी बंगलादेशमा प्रत्येक ३ वर्षमा अनिवार्य रूपमा शाखा कार्यालयमा सरुवा हुनैपर्ने व्यवस्थाले पनि बैंकिङ क्षेत्रमा महिलाहरूको प्रवेशमा व्यवधान खडा गरेको देखिन्छ ।
अपर्याप्त व्यावसायिक विकास
व्यावसायिक विकासको सन्दर्भमा पनि पारिवारिक वा अन्य कारणले पुरूष कर्मचारीको तुलनामा महिला कर्मचारीहरूको सहभागिता न्यून मात्रामा नै रहेको पाइएको छ । नेपाल र बंगलादेशमा पुरूष बैंकरको तुलनामा महिला बैंकरहरूले कम मात्र तालीम तथा कोचिङ, मेन्टरिङजस्ता अवसर प्राप्त गरेका छन् । तर, यही कुरा श्रीलंकाको सन्दर्भमा भने महिला पुरूष दुवै बैंकरहरूले यस्तो अवसर लगभग समान रूपमा प्राप्त गर्ने गरेको अध्ययनले देखाएको छ ।
सामाजिक व्यवधानहरू
आमरूपमा विकासोन्मुख देशहरूको सामाजिक परिवेशअनुसार अधिकांश पारिवारिक दायित्व निर्वाह गर्न महिलाहरू नै बढी जिम्मेवार मानिन्छन् । यस्तो सामाजिक परिवेशले परिवार र कार्यालयको दायित्वलाई समान रूपमा निर्वाह गर्न महिलाहरूलाई सकस परिरहेको छ । यस्ता कारणले पनि उनीहरूको व्यावसायिक विकासमा अवरोध सृजना गरिरहेको देखिन्छ । श्रीलंकाका बैंकहरूमा अध्ययन गरिएका महिला कर्मचारीमध्ये ४० प्रतिशत कर्मचारीले र बंगलादेशका २८ प्रतिशत कर्मचारीहरूले घरायसी कामकाजको कारण आफ्नो बैंकिङ करिअरलाई नकारात्मक रूपमा असर पुर्याएको उल्लेख गरेका थिए । उनीहरूका अनुसार बच्चा जन्माउनु, हुर्काउनुजस्ता प्राकृतिक जिम्मेवारीका कारणले पनि महिला बैंकरहरूको व्यावसायिक विकासमा व्यवधान सृजना गरेको छ । यसरी कार्य जीवन सन्तुलन मिलाउन पनि महिला बैंकरहरूले अतिरिक्त चुनौतीको सामना गर्नु परेको छ । अझ कतिपय सन्दर्भमा बैंकहरूका उच्च अधिकारीहरूले महिलाहरूले भोगिरहेका यस्ता व्यावहारिक र सामाजिक समस्यालाई उनीहरूको व्यक्तिगत समस्याको रूपमा बुझ्ने र तिनलाई समाधान गर्न कुनै पनि प्रकारको सहयोगात्मक भूमिका नखेल्ने कारणले पनि महिलाहरूलाई वृत्ति–विकासमा व्यवधान सृजना गरेको देखिन्छ ।
मूल्यांकनमा असमानता
अध्ययनमा सहभागी भएकामध्ये ७० प्रतिशत महिलाहरूले र ५६ प्रतिशत पुरूषहरूले आफ्नो कार्यसम्पादनका बारेमा उच्च व्यवस्थापकले निष्पक्ष ढंगले मूल्यांकन नगर्ने उल्लेख गरेका थिए । कुनै निश्चित मापदण्ड नअपनाई मूल्यांकन गरिने र मूल्यांकनपछि दिइने पृष्ठपोषण (फिडब्याक) पनि अस्पष्ट र अमूर्त हुने उनीहरूको गुनासो रहेको थियो । दक्षतापूर्वक काम गर्ने भए पनि पुरूषप्रधान दृष्टिकोणका साथ मूल्यांकन गर्दै उनीहरूको कार्यक्षमतालाई उचित मूल्यांकन नगरिने प्रवृत्ति समान रूपमा तीनै देशका महिला बैंकरहरूले अनुभव गरेको पनि देखिएको छ ।
असुरक्षित कार्य–वातावरण
खासगरी बैठकहरूमा उच्च अधिकारीहरूले आफ्नो भनाइलाई गम्भीरताका साथ नसुन्ने तथा बोल्दाबोल्दै बीचमै रोक्नेजस्ता व्यवधानहरू पनि तीनै देशका महिला बैंकरहरूले गुनासो गरेका छन् । आफूभन्दा उच्च पदमा रहेकाहरूबाट मात्र होइन, सहकर्मी तथा आफूअन्तर्गतका कनिष्ठ कर्मचारीहरूबाट समेत महिला भएकै कारण आफूलाई उपयुक्त रूपमा सम्मानजनक व्यवहार नगरिनेजस्ता ससाना अवयवहरूले समेत महिलाहरूमाथि विभेदको भाव जागृत गराउने गरेको अध्ययनले देखाएको छ । यसका अतिरिक्त कार्यक्षेत्रमा अनुभव गर्नुपर्ने सुरक्षाको वातावरणबाट पनि उनीहरू वञ्चित रहनु परेको र कतिपय अवस्थामा यौनहिंसाको समेत शिकार हुनुपर्ने अवस्थाले बैंकहरूमा लिंगीय विभेदको अवस्थालाई दर्शाएको छ ।
यस्ता व्यवधानहरूबाट मुक्त बनाउन बैंकहरूले गम्भीरताका साथ उपायहरू अवलम्बन गरे पनि लिंगीय र नीतिगत असमानताका कारण त्यसको उपयुक्त प्रतिफल प्राप्त गर्न नसकिएको देखिन्छ । तापनि कानूनी प्रबन्धद्वारा नै महिलाहरूलाई संलग्न गर्ने परिपाटीले नेपालको बैंकिङ क्षेत्रमा महिलाको संख्या र अवस्था भने अध्ययन गरिएका अन्य दुई मुलुकको तुलनामा अब्बल रहेको देखिएको छ ।
लेखक सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा विद्यावारिधिप्राप्त बैंकर हुन् ।