शेयरबजारको पूँजीकरण र कुल गार्हस्थ्य उत्पादन अर्थात् ग्रस डोमेस्टिक प्रडक्ट (जीडीपी) बीच अन्तरसम्बन्धका बारेमा चर्चा हुनथालेको छ । बजार पूँजीकरण बढ्दै जाँदा यस्तो बहस हुनेगर्छ । यस्तै बहस २०७८ सालमा पनि चलेको थियो । बहस चल्दै गयो, बजार घट्दै गयो, चर्चा र बहस पनि सकियो, विषय पनि हरायो । यस वर्ष पनि चर्चा चल्न थालेको छ । बजार पूँजीकरण घट्दै गएपछि अन्तरसम्बन्ध हुन्छ कि हुन्न भन्ने विषय नटुंगिकन सकिनेछ र बजार बढ्दै गएपछि फेरी चर्चा शुरू हुनेछ । यो क्रम निरन्तर चल्नेछ । पूँजीकरण बढ्दा मात्र यसको चर्चा चल्नुले यी दुई बीचको कुनै सम्बन्ध छैन र यो केवल ‘तर्साउने’ अस्त्र मात्र हो भन्ने देखिन्छ । शेयर बजार पूँजीकरण, जीडीपीसँगको अन्तरसम्बन्ध र अहिले देखिएको बजार पूँजीकरण वास्तविक हो कि हैन, वास्तविक पूँजीकरण कति छ भन्ने बारेमा विस्तारमा चर्चा गरिन्छ ।
जीडीपी र पूँजीकरण
कुल गार्हस्थ्य उत्पादन भन्नाले कुनै पनि देशको एक निश्चित समयावधिमा वस्तु तथा सेवाको अन्तिम बजार मूल्यको योग हो । यसको मापन १ आवको समयावधि लिएर गरिन्छ । कुनै पनि वस्तु वा सेवा सोही तोकिएको समयभित्र उत्पादन भएको हुनुपर्छ । यसमा उपभोगका लागि तयार भइसकेको वस्तु तथा सेवा मात्रै समावेश हुन्छन् । उत्पादनमा उपयोग हुने कच्चा पदार्थ यसमा पर्दैन । कुल गार्हस्थ्य उत्पादन बजार मूल्यमा मापन गरिने हुँदा वस्तु तथा सेवाको बजार मूल्य बढ्दा कुल गार्हस्थ्य उत्पादनको मानसमेत वृद्धि हुन्छ । अहिले नेपालको जीडीपी ५३ खर्ब ८१ अर्ब रूपैयाँ पुगेको छ । आव २०८१/८२ मा जीडीपी झन्डै ५८ खर्ब पुग्ने अनुमान गरिएको छ ।
शेयरबजारको पूँजीकरण कति हुनुपर्ने भन्ने कुनै सीमा हुँदैन । शेयरबजारमा कम्पनी बाहिरिनेभन्दा भित्रिने अर्थात् सूचीकरण हुने दर बढी हुन्छ । नयाँ कम्पनी सूचीकरण भइरहने हुँदा पूँजीकरण पनि बढ्दै जान्छ ।
स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको कुल बजार मूल्यलाई बजार पूँजीकरण भनिन्छ । यसको मापन गर्दा सूचीकृत शेयर संख्यालाई त्यसको बजार मूल्यले गुणन गरी निकालिन्छ । उदाहरणका लागि नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी) को सूचीकृत शेयर संख्या १८ करोडलाई त्यसको बजार मूल्यले गुणन गर्दा यस कम्पनीको बजार पूँजीकरणको अङ्क आउँछ । २०८१ भदौ १३ गतेका दिन बजार बन्द हुँदाको अन्तिम मूल्य ९ सय ९२ रुपैयाँ १० पैसाको हिसाबले यस कम्पनीको बजार पूँजीकरण १ खर्ब ७८ अर्ब ५७ करोड ८० हजार रुपैयाँ हुन्छ । अन्य सूचीकृत कम्पनीको पनि यसैगरी बजार पूँजीकरण निकालिन्छ र सबै कम्पनीको बजार पूँजीकरणलाई जोडेर कुल बजार पूँजीकरण निकालिन्छ । २०८१ भदौ १३ गतेका दिन बजार पूँजीकरण ४३ खर्ब ६६ अर्ब ८८ करोड ६० लाख ५५ हजार १ सय ८५ र फ्लोट पूँजीकरण १५ खर्ब ४० अर्ब ४ करोड ६६ लाख ७० हजार रुपैयाँ थियो ।
जीडीपी र पूँजीकरणको सम्बन्ध
जीडीपी बढ्दा कम्पनीको नाफा बढ्नसक्छ । कम्पनीको नाफा बढ्दा शेयर मूल्य बढ्न सक्छ । शेयर मूल्य बढ्दा बजार पूँजीकरण पनि बढ्दै जान्छ । यस हिसाबले जीडीपी र बजार पूँजीकरणबीच सकारात्मक सम्बन्ध छ भन्न सकिन्छ । यसको सम्बन्ध हुने भए पनि जीडीपी र बजार पूँजीकरण सँगसँगै जानुपर्छ वा जान्छ भन्ने हुँदैन । कुनै पनि कम्पनीको शेयर मूल्य कम्पनीको नाफाले मात्र बढ्छ भन्ने निरपेक्ष आधार हुँदैन । किनभने शेयरबजारमा लगानी मात्र गरिँदैन, वस्तुसरह कारोबार पनि गरिन्छ । कारोबार गर्दा कारोबारयोग्य शेयरको उपलब्धता पनि दृष्टिगत गरिएको हुन्छ । कारोबारीको मनोभावना, आर्थिक अवस्था, राजनीतिक स्थिरता र कम्पनीको व्यावसायिक अवस्थालगायत शेयरबजारलाई असर गर्ने धेरै कारक तत्त्वले बजार पूँजीकरण जीडीपीभन्दा फरक हुन सक्छ । जीडीपी र बजार पूँजीकरणको सम्बन्धका बारेमा पहिलोपटक अमेरिकी शेयर कारोबारी वारेन बफेटले उल्लेख गरेका थिए । आजको दिनमा बफेटले नै यसको उपयोग गर्न छाडिसकेका छन् । बफेटले शुरू गरेको यो विषयमा कुनै प्राज्ञिक निकायले शोध गरेको छैन । एक कारोबारीले आफ्ना लागि बनाएको एउटा सूत्र मानक सिद्धान्त बन्न सक्दैन । यस्तो हुन्थ्यो भने हरेक व्यक्तिले आफूलाई उपयुक्त ठानेको चिज आमसमुदायलाई उत्तिकै उपयोगी हुने थियो तर यस्तो हुँदैन । अंग्रेजीमा ‘वान म्यान्स फूड मे बी पोइजन फर एनोदर’ अर्थात् एकजनाको खाना अर्को व्यक्तिको लागि विष हुनसक्छ भन्ने भनाइ छ ।
अड्ढका रूपमा पूँजीकरण
बजार पूँजीकरण एउटा विशुद्ध अङ्क वा हिसाब मात्र हो । २०८१ भदौ १३ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को विवरणअनुसार विशाल बजार कम्पनी लिमिटेडको शेयर मूल्य ४ हजार ५ सय २९ रुपैयाँ थियो । यस दिन यस कम्पनीको १ सय ६५ कित्ता शेयर कारोबार भएको थियो । १ सय ६५ कित्ता कारोबार भए पनि सबै शेयरको कारोबार भएसरह हिसाब निकालिन्छ । नेप्सेमा सूचीकृत सबैभन्दा कम ४ लाख ९१ हजार ४ सय कित्ता शेयर भएको विशाल बजार कम्पनी लिमिटेडको एकै दिन सबै शेयर कारोबार भएमा २ अर्ब २२ करोड ५५ लाख ५० हजार ६ सय रुपैयाँ रकम चाहिने रहेछ । यही रकमलाई नै बजार पूँजीकरण भनिन्छ । थोरै शेयर भएको कम्पनीको सबै शेयर विक्री हुँदा त २ अर्ब रुपैयाँभन्दा बढी रकम चाहिन्छ भने सूचीकृत सबै कम्पनीको शेयर एकैदिन कारोबार हुने हो भने झन्डै ४३ खर्ब रुपैयाँ चाहिन्छ । सूचीकृत सबै शेयर कारोबारयोग्य हुँदैन । नेपालको सन्दर्भमा बैंकिङ र बीमा कम्पनीको ४९ प्रतिशत मात्रै शेयर खुलाबजारमा कारोबार हुन्छन् । यसको विपरीत बाँकी ५१ प्रतिशत शेयर खुलाबजारमा कारोबारयोग्य हुँदैनन् । त्यस्तै, बैंकिङ र बीमाबाहेकका क्षेत्रका कम्पनीका शेयर ३ वर्षपछि सबै कारोबारयोग्य हुन्छन् । संसारमा कहीँ नहुने दुई र तीनथरी शेयर मूल्य नेपालमा मात्र देख्न पाइन्छ । बैंकिङ र बीमा कम्पनीको संस्थापक र सर्वसाधारण गरी शेयरको मूल्य छुट्टाछुट्टै छ । तर, पूँजीकरण गणना गर्दा संस्थापक शेयरलाई सर्वसाधारण अर्थात् फ्लोटको आधारमा गरिन्छ । यसबाट के बुझ्नुपर्छ भने बजार पूँजीकरण अङ्क मात्र हो ।
पूँजीकरण र इन्डेक्सलाई अंकको हिसाबले घटीबढी भयो भन्नुभन्दा यस्तो हिसाब बुझ्न आधार पूँजीकरण लिएर तुलनात्मकरूपले हेर्नुपर्छ । यसका लागि नेप्सेले हरेक हप्ता आधार पूँजीकरण र फ्लोट पूँजीकरण गणना गर्दा लिएका आधार पनि साप्ताहिक रूपमा सार्वजनिक गर्नुपर्छ ।
तीन गुणा पूँजीकरण
२०८१ भदौ १३ गते नेपालमा बजार पूँजीकरण जीडीपीको करीब ८२ प्रतिशत थियो । यो अनुपात बढेर ८८ प्रतिशतसम्म पुगेको छ । यति बेलै शेयरबजार ‘ओभरभ्यालुड’ भन्यो, जोखिम बढ्यो भन्ने चर्चा शुरू चलेको छ । यता यस्तो चर्चा चलिरहँदा साउदी अरबको बजार पूँजीकरण जीडीपीभन्दा १ सय ५० प्रतिशत बढी छ । साउदी अरबको जीडीपी २६ नील र बजार पूँजीकरण ३७ नील नेपाली रुपैयाँ छ । सन् २०१९ डिसेम्बर ११ मा साउदी अरबको बजार पूँजीकरण जीडीपीको झन्डै तीन गुणा थियो । यसरी पूँजीकरण बढ्नुमा त्यहाँ सूचीकृत कम्पनीको शेयर मूल्य तीन गुणा बढेको थिएन । साउदी सरकार स्वामित्वको पेट्रोलियम उत्पादक साउदी अरेबियन आयल कम्पनी सूचीकरण भएको थियो । यसले पहिलो कारोबार दिनमै २५ नील २६ खर्ब नेपाली रुपैयाँभन्दा बढीको बजार पूँजीकरण कायम गरेको थियो । साउदी अरबको स्टक एक्सचेन्जको त्यतिबेलाको बजार पूँजीकरण करीब ३० नील जीडीपी १२ नील नेपाली रुपैयाँ हाराहारी थियो । अहिले जीडीपी बराबर बजार पूँजीकरण पुग्न लाग्यो, जोखिम बढ्यो भन्ने जुन प्रचार भइरहेको छ, यसको सत्यतथ्यका बारेमा खासै चर्चा भएको देखिँदैन । खोजी हुन्थ्यो भने साउदी अरबको जीडीपी र पूँजीकरणको चर्चा अवश्य नै हुनेगथ्र्यो । यस्तो उदाहरण अरू पनि भेटिन सक्छ ।
कुन पूँजीकरण वास्तविक
नेप्सेले कुल र फ्लोट गरी दुईथरी बजार पूँजीकरण सार्वजनिक गरिरहेको छ । कुल पूँजीकरणको चर्चा चल्दा फ्लोट पूँजीकरणको बारेमा कसैले पनि वास्ता गरेको देखिन्न । यद्यपि कुल पूँजीकरणलाई लिँदा पनि यसले कुनै असर पार्ने होइन । किनकि यो एउटा अङ्क मात्र हो, यसले कुनै तात्त्िवक असर पर्दैन भन्ने कुरा साउदी अरबको बजार पूँजीकरण र जीडीपीको अङ्क हेर्दा ज्ञात हुन्छ । साउदीको उदाहरणले देखाउने कुरो के हो भने अन्य कम्पनीको शेयर मूल्य नबढे पनि कुनै एउटा कम्पनीले पनि बजार पूँजीकरणमा तात्त्िवक असर पर्दोरहेछ । नेप्सेमा सूचीकृत विभिन्न १२ ओटा समूहका २६८ ओटा कम्पनीको ८ अर्ब १८ करोड ७१ लाख ४५ हजार ९३५ कित्ता शेयर सूचीकृत भएका छन् । यो अङ्कमा खारेजीको क्रममा रहेका (क्रिष्टल फाइनान्स लिमिटेड) र सूचीकरणमा रहेका तर कारोबार स्थगन भएको (क्यापिटल मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनी लिमिटेड) शेयरलाई समावेश गरिएको छैन । यसमा सोल्टी होटेल लिमिटेडको अङ्कित मूल्य १० रुपैयाँ र हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको अङ्कित मूल्य ५० रुपैयाँ रहेका शेयरलाई अङ्कित मूल्य १ सय रुपैयाँको हिसाबले गणना गरिएको छ । २०८१ भदौ १३ गतेको विवरणअनुसार यी सबैको बजार पूँजीकरण ४३ खर्ब ६६ अर्ब ८८ करोड ६० लाख ५५ हजार १ सय ८५ र फ्लोट पूँजीकरण १५ खर्ब ४० अर्ब ४ करोड ६६ लाख ७० हजार रुपैयाँ छ ।
कुल पूँजीकरण कसरी गणना गरिन्छ भन्ने कुरा माथि उल्लेख भइसकेको छ । फ्लोट गणना कसरी गरिएको छ भनेर नेप्सेले सार्वजनिक गर्ने गरेको छैन । सिद्धान्तत: फ्लोटमा कारोबारयोग्य शेयर मात्र गणना गरिन्छ । बैंकिङ र बीमाबाहेकका कम्पनीको शेयर निश्चित अवधिसम्म विक्री बन्देजमा रहन्छ । यस्ता विक्री बन्देजमा रहेका शेयरलाई फ्लोटमा राखिएको छ वा छैन सार्वजनिक रूपमा प्रकाशमा नआएको हुँदा यस बारेमा यकीन भन्न सकिँदैन । फ्लोट पूँजीकरण हेर्दा यस्ता शेयरलाई राखिएको छैन होला भन्नेसम्मको अनुमान गर्न सकिन्छ ।
जलविद्युत् समूहका अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, रसुवागढी हाइड्रोपावर लिमिटेड, साञ्जेन जलविद्युत् कम्पनी लिमिटेड, मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेड र चिलिमे जलविद्युत् कम्पनी लिमिटेडका संस्थापक शेयरलाई कुन वर्गमा राखिएको छ, यसको पनि सार्वजनिक जानकारीमा आएको छैन । खुला रूपमा कारोबारमा आउने शेयरको अनुमानित संख्या ४ अर्ब ५० करोड कित्ता छ । अनुमान गरिएको फ्लोटेड शेयरको बजार पूँजीकरण करीब २७ खर्ब रुपैयाँ अनुमान गर्न सकिन्छ । तालिकामा सूचीकृत क्षेत्र, कुल शेयर संख्या, अनुमानित फ्लोटेड शेयर संख्या र अन्तिम बजार मूल्यअनुसारको बजार पूँजीकरण पेश गरिएको छ ।
तालिकामा वाणिज्य बैंक, विकास बैंक, वित्त (फाइनान्स), लघुवित्त, जीवन बीमा र निर्जीवन बीमा कम्पनीका शेयरलाई एकै ठाउँमा राखिएको छ । यी समूहका कम्पनीका ४९ प्रतिशतसम्म शेयर सर्वसाधारण अर्थात् फ्लोटमा राख्न सकिने हुँदा हाल फ्लोटमा नआए पनि भविष्यमा जुनसुकै बेला फ्लोटेड बनाइने भएकाले अहिले नै यसलाई फ्लोटमा राखिएको छ । जलविद्युत् समूहका तामाकोशी, चिलिमे, साञ्जेन, रसुवागढी र मध्य भोटेकोशीको ४९ प्रतिशत शेयरलाई फ्लोटेड मानी अन्य कम्पनीका पूरै शेयरलाई कारोबारयोग्यका रूपमा लिइएको छ । यसमा पनि लकिङ खुल्न बाँकी रहेका कम्पनीको क्रमश: लकिङ खुली खुलाबजारमा कारोबार हुनेहुँदा अहिले नै फ्लोटेडमा राखिएको हो । लगानी समूहको नागरिक लगानी कोष, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, नेपाल पूर्वाधार बैंक लिमिटेड र इमर्जिङ नेपाल लिमिटेडको क्रमश: २०, २०, ४० र १० प्रतिशत शेयरलाई कारोबारयोग्यका रूपमा लिइएको छ । अन्य समूहको एनटीसी, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको क्रमश: ८, १६ र ३० प्रतिशत शेयरलाई कारोबारयोग्यको रूपमा लिइएको छ । उत्पादन तथा प्रशोधन र होटेल तथा पर्यटन समूहका सबै शेयरलाई कारोबारयोग्य गणना गरिएको छ । त्यस्तै, व्यापार समूहको विशालबजार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनको क्रमश: ८५ र ७८ प्रतिशतलाई कारोबारयोग्य मानिएको छ ।
जोखिमको अवस्था
शेयरबजारको पूँजीकरण कति हुनुपर्ने भन्ने कुनै सीमा हुँदैन । शेयरबजारमा कम्पनी बाहिरिनेभन्दा भित्रिने अर्थात् सूचीकरण हुने दर बढी हुन्छ । नयाँ कम्पनी सूचीकरण भइरहने हुँदा पूँजीकरण पनि बढ्दै जान्छ । पूँजीकरण कति हुँदा ठीक कति हुँदा बेठीक भन्ने कुनै सूत्र हुन्न । जोखिम कुल बजार पूँजीकरणले हैन तत्तत् कम्पनीको शेयर मूल्यले निर्धारण गर्छ । पूँजीकरण केवल गणना मात्र भएको र यो वास्तविक रकम नभएको हुँदा यसले लगानी र कारोबारमा कुनै असर गर्दैन । तालिकामा अनुमान गरिएको झन्डै २७ खर्ब रुपैयाँ पनि वास्तविक अङ्क भने होइन । बजार पूँजीकरणमा २७ प्रतिशत योगदान दिने बैंकिङ र बिमाको ४९ प्रतिशत फ्लोट मानिए पनि अझसम्म पनि कतिपय कम्पनीको ३० प्रतिशत शेयर मात्र फ्लोट भएको छ । १५ प्रतिशतको योगदान दिने जलविद्युत् समूहका धेरै कम्पनीको लकिङ खुल्न बाँकी छ । जीडीपी र पूँजीकरणका बीच प्रत्यक्षरूपमा कुनै सम्बन्ध स्थापित गर्न नसकिएको अवस्थामा शेयरबजार ‘ओभरभ्यालुड’ भयो भन्नुको कुनै अर्थ देखिन्न । यदि यी दुई बीचमा सम्बन्ध हुने रहेछ भनेर प्रमाणित नै भयो भने पनि शेयरबजार ‘ओभरभ्यालुड’ भएको देखिन्न । नेप्सेले सार्वजनिक गरेको फ्लोट पूँजीकरणलाई आधार मान्ने हो भने जीडीपीको एक चौथाइ र तालिकामा देखाइएको अनुमानित पूँजीकरणलाई आधार मान्दा पनि आधा मात्र पुगेको छ ।
बजार पूँजीकरणले कुनै पनि कम्पनीको शेयर मूल्य ओभरभ्यालुड हुँदैन । कम्पनीगत शेयर मूल्यको आधारमा कम्पनीचाहिँ ‘ओभरभ्यालुड’ हुनसक्छ । पूँजीकरणसँगै बेलाबेला शेयर कारोबार मापन गर्ने इन्डेक्सलाई लिएर पनि अनेकौं कुरा आउँछ । कुनै बेलाको झन्डै ३ हजार २ सयको इन्डेक्स घटेर फेरि त्यति नै अङ्क पुग्दा एकै हुँदैन । किनभने यस बीचमा थुप्रै कम्पनी सूचीकरणमा आइसकेका हुन्छन् । इन्डेक्स गणना गर्दा लिइने आधार पूँजीकरण नयाँ कम्पनी सूचीकरण हुनासाथ परिवर्तन हुन्छ । पूँजीकरण र इन्डेक्सलाई अङ्कको हिसाबले घटीबढी भयो भन्नुभन्दा यस्तो हिसाब बुझ्न आधार पूँजीकरण लिएर तुलनात्मक रूपले हेर्नुपर्छ । यसका लागि नेप्सेले हरेक हप्ता आधार पूँजीकरण र फ्लोट पूँजीकरण गणना गर्दा लिएका आधार पनि साप्ताहिक रूपमा सार्वजनिक गर्नुपर्छ । यस्तो विवरणमा कुन कम्पनीको कति शेयर फ्लोटमा आएको छ भन्ने पनि उल्लेख गर्नुपर्छ । यसो गर्दा आमरूपमा फ्लोट पूँजीकरण विश्वसनीय हुनजान्छ र अध्येतालाई पनि तुलनात्मक अध्ययन गर्न सघाउ पुग्छ ।
लेखक शेयरबजारसम्बन्धी अध्येता एवं करपोरेट अधिवक्ता हुन् ।