काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (पुस ५ गते)देखि थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गरेको छ ।
कम्पनीले सर्वसाधारण समूहतर्फको हिस्सा ३० प्रतिशत कायम गर्न एफपीओ निष्कासन गरेको हो । हाल कम्पनीको सर्वसाधारणतर्फको स्वामित्व १९ दशमलव ६८ प्रतिशत रहेको छ ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको ४ लाख ७५ हजार ४४९ दशमलव १५ कित्ता एफपीओ निष्कासन गरेको हो ।
धितोपत्र दोस्रो बजारमा सूचीकृत यो कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ५०० रुपैयाँभन्दा बढी छ । सर्वसाधारणतर्फको स्वामित्व ३० प्रतिशत कायम गर्नुपर्ने अवस्थामा लगानीकर्ताले प्रतिशेयर १०० रुपैयाँमै कम्पनीको एफपीओ खरीद गर्न पाउने अवसर पाएका हुन् ।
यो एफपीओमा लगानीकर्ताले छिटो अवधि पुस ९ गतेसम्म आवेदन दिन सक्नेछन् । छिटो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि पुस १९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ ।
कम्पनीको एफपीओ प्रतिशेयर १०० रुपैयाँमा नै खरीद गर्न पाइने भएपछि लगानीकर्ताको आवेदन पहिलो दिनमा नै मागभन्दा बढी पर्ने देखिएको छ । यसो भएमा कम्पनीको एफपीओ छिटो अवधि पुस ९ गतेसम्म मात्र विक्रीमा रहनेछ ।
यो एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ ।
एफपीओ निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।
एफपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ।
लगानीकर्ताले कम्पनीको आईपीओले पाएको रेटिङ्गलाई पनि लगानीको धारणाका लागि आधार बनाउन सक्नेछन् ।
कस्तो छ त कम्पनीको समग्र अवस्था ?
कम्पनीको परिचय
महुली लघुवित्त वित्तीय संस्था लिमिटेड महुली सामुदायिक विकास केन्द्रबाट प्रवर्द्धन भई २०६९ भदौ १७ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको हो ।
कम्पनीले नेपाल राष्ट्र बैंकबाट २०७० जेठ ३० गते कारोबारका लागि अनुमति प्राप्त गरी सोही मितिदेखि कारोबार सञ्चालक गर्दै आएको छ । २०७६ माघ ८ गते नवकिरण लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जरसम्बन्धी सम्झौता गरेको कम्पनीले २०७७ मंसिर ८ गतेदेखि एकीकृत कारोबार शुरु गरेको हो । राष्ट्रिय स्तरको यस कम्पनीले हाल सात ओटै प्रदेशमा ६४ ओटा शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।
पूँजी संरचना
हाल कम्पनीमा संस्थापकतर्फ ८० दशमलव ३२ प्रतिशत र सर्वसाधारणतर्फ १९ दशमलव ६८ प्रतिशत शेयर स्वामित्व कायम छ । अधिकृत पूँजी ४० करोड रुपैयाँ रहेको कम्पनीको जारी पूँजी ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ छ । हाल कम्पनीको चुक्तापूँजी भने ३२ करोड २३ लाख ७८ हजार रहेको छ ।
एफपीओ निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ कायम हुनेछ । एफपीओपछि कम्पनीमा संस्थापकतर्फ २५ लाख ८९ हजार ४६२ दशमलव ५४ कित्ता र सर्वसाधारणतर्फ ११ लाख ९ हजार ७७२ दशमलव ४६ कित्ता शेयर कायम हुनेछ ।
वित्तीय अवस्था
कम्पनीले सार्वजनिक गरेको अघिल्ला तीन आर्थिक वर्षको वास्तविक वित्तीय विवरण अनुसार निरन्तर सञ्चित नाफामा रहेको देखिन्छ । आर्थिक वर्ष ०७७/७८ मा १५ करोड १० लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको कम्पनी आर्थिक वर्ष ०७८/७९ मा भने १० करोड ७५ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा थियो ।
आर्थिक वर्ष ०७९/८० मा कम्पनीको सञ्चित नाफा १ करोड ६४ लाख रुपैयाँभन्दा बढीमा खुम्चिएको देखिन्छ । गत असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी ९ करोड ४ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ ।
चालू आर्थिक वर्षभित्र कम्पनीले १७ करोड ६५ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ । कम्पनीको पछिल्लो आर्थिक वर्ष ०७९/८० को वास्तविक वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ७५ पैसा र प्रतिशेयर आम्दानी १३ रुपैयाँ ७१ पैसा छ । चालू आर्थिक वर्षभित्र कम्पनीको प्रतिशेयर नेटवर्थ २२१ रुपैयाँ ७८ पैसा र प्रतिशेयर आम्दानी २८ रुपैयाँ २८ पैसा कायम गर्ने प्रक्षेपण रहेको छ ।
सञ्चालक समिति
यस कम्पनीमा ६ सदस्यीय सञ्चालक समिति रहेको छ । सञ्चालक समितिको संरचना कायम गर्नुपर्ने व्यवस्थाबमोजिम कम्पनीमा सात सदस्यीय सञ्चालक समिति हुनुपर्ने अवस्थामा हाल कम्पनीमा ६ सदस्यीय सञ्चालक समिति मात्र रहेको हो ।
संस्थापक तर्फबाट ४ जना, सर्वसाधारणतर्फबाट २ जना र एक जना स्वतन्त्र सञ्चालक हुनुपर्नेमा सर्वसाधारणतर्फ एक जना मात्र सञ्चालक रहेका छन् । कम्पनीको अध्यक्षमा प्रभु नारायण चौधरी रहेका छन् । ५४ वर्षका अध्यक्ष चौधरी लघुवित्त क्षेत्रमा २०५७ सालदेखि प्रमुखको रुपमै कार्य गर्दै आएका छन् । उनी पूर्वशिक्षक समेत हुन् ।
संस्थापक शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने अध्यक्ष चौधरीसँग कम्पनीको १ दशमलव ४७ प्रतिशत शेयर स्वामित्व छ । कम्पनीका सञ्चालकहरूमा भने कमल प्रसाद बस्याल, मोहन हरि आचार्य, श्रीप्रसाद चौधरी, निमानन्द कडेल र सन्तोष कुमार लुइँटेल छन् । सन्तोष कुमार लुइँटेल भने स्वतन्त्र सञ्चालक रहेका छन् ।
दोस्रो बजारमा कति तोकिन्छ पहिलो कारोबार मूल्य ?
आईपीओको सम्बन्धमा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्य रेञ्ज धितोपत्र दोस्रो बजार सञ्चालकले पहिलो कारोबारका लागि तोक्ने गर्छ ।
एफपीओ सूचीकृतपछिको कारोबारका लागि भने कुनै पनि मूल्य निर्धारण नहुने धितोपत्र दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ । एफपीओ मूल्य भने कारोबारमा आउने दिनमा कायम कम्पनीको शेयर मूल्यका आधारमा तय हुनेछ ।