काठमाडौं । ललितपुरस्थित मितेरी सहकारीको रकम अनियमितता प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङसँग कागजी बयान लिएको छ ।
सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार धनराजसँग आज दिउँसो १२ बजेदेखि ५ बजेसम्म बयान लिइएको हो ।
उनीमाथि श्रीमती ज्योति गुरुङसँग मिलेर मितेरी सहकारीको रकम अनियमितता गरेको भन्दै सीआईबीमा उजुरीसमेत परेको छ । ज्योति महाप्रबन्धक रहेका बेला श्रीमान र श्रीमती मिलेर रकम हिनामिना गरेको आरोप लागेको छ । ज्योतिले १४ करोड ८१ लाख रकम दुरुपयोग गरेको र त्यसमा धनराजको पनि संलग्नता रहेको आरोप छ ।
धनराजमाथि छानबिनका लागि संसदमा समेत प्रश्न उठेको थियो । सहकारी संस्था बचत रकम दुरूपयोगसम्बन्धी विशेष छानबिन समितिले पनि गुरूङमाथि अनुसन्धान गरी शीघ्र कारबाही गर्न निर्देशन दिएको थियो ।
ज्योतिविरुद्ध भने रेड कर्नर नोटिस जारी भइसकेको छ ।