काठमाडौं । मंगलवार ४ दशमलव ५७ प्रतिशत बढेको धितोपत्र दोस्रो बजारमा कारोबारमा आएका कम्पनीमध्ये युनिलिभर नेपालको मात्र शेयर मूल्य घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दिएको जानकारी अनुसार मंगलवार २४३ कम्पनीको शेयर कारोबार भएको छ । मंगलवार कारोबारमा आएका धितोपत्रमध्ये २२ ओटाको मूल्य घटेको छ, जसमा युनिलिभर नेपालबाहेक म्युचुअल फण्ड र ऋणपत्र छन् ।
मंगलवार बजार ११४ दशमलव ७० अंक बढेर २ हजार ६२३ दशमलव ५६ विन्दुमा पुगेको छ । उच्च अंकले बजार बढ्दा आकर्षक लाभांश प्रस्ताव गरेको युनिलिभरको मात्र शेयर मूल्य घट्नुको कारण विक्रेता बढ्नु र खरीद माग कम हुुनु रहेको जानकार बताउँछन् । नेपालको धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीमध्येकै सर्वाधिक शेयर मूल्य यो कम्पनीको छ ।
मंगलवार प्रतिकित्ता ४१० रुपैयाँले मूल्य घट्दा पनि कम्पनीको अन्तिम शेयर मूल्य प्रतिकित्ता ५० हजार ८० रुपैयाँ कायम छ । साना लगानीकर्ताको पहुँचबाहिर भएकाले पनि कम्पनीको शेयर विक्री चाप बढ्दा माग बढ्न नसक्ने अवस्थाले मूल्यमा असर गरेको देखिन्छ ।
यस वर्ष कम्पनीले हालसम्मकै उच्च लाभांश प्रस्ताव गरेको छ । असोज ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०÷८१ सम्मको मुनाफाबाट प्रतिकित्ता १ हजार ७१४ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
लाभांश वितरणको इतिहासमै कम्पनीले बोनस शेयर वितरण गरेको छैन । कम्पनीले हालसम्म वितरण गरेको लाभांशको अवस्थालाई हेर्दा यसअघि प्रतिकित्ता १ हजार ५८० रुपैयाँसम्म नगद लाभांश वितरण गरेको तथ्याङ्क छ । उक्त लाभांश कम्पनीले अघिल्लो आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट वितरण गरेको थियो ।
पछिल्ला तीन आर्थिक वर्षमा कम्पनीको लाभांश निरन्तर बढ्दो क्रममा छ । आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कम्पनीले प्रतिकित्ता १ हजार २१५ रुपैयाँ नगद लाभांश वितरण गरेको थियो ।
कम्पनीले सबैभन्दा कम नगद लाभांश आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट प्रतिकित्ता १०० रुपैयाँ वितरण गरेको देखिन्छ । लाभांश वितरणलाई निरन्तरता दिँदै आएको कम्पनीले नेपालको धितोपत्र बजारमा सूचीकृत कम्पनीहरूलाई चुनौती दिने गरी नै लाभांश वितरण गर्दै आएको छ ।
दोस्रो बजारमा कम्पनीको ९ लाख २० हजार ७०० कित्ता शेयर सूचीकृत छ । मंगलवार कम्पनीको ६० कित्ता शेयर ३० लाख ७ हजार रुपैयाँभन्दा बढी मूल्यमा कारोबार भएको छ ।