काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणमा साधारण शेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ । नेपालमै पहिलो पटक रङ उद्योगको आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउन कम्पनीले मुक्तिनाथ क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको छ ।
एक कार्यक्रमबीच एभरेष्ट कलरका प्रबन्ध सञ्चालक सरोज लुईंटेल र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीले रू. ३ करोड ९० लाख शेयर पूँजी बराबरको रू. ५० अंकित दरको ७ लाख ८० हजार कित्ता साधारण शेयर जारी गर्न लागेको बताइएको छ ।
उक्त कम्पनीलाई केयर रेटिङ्स नेपाल लिमिटेडले केयर–एनपी डबल बी माइनस (इस्योर) रेटिङ प्रदान गरेको छ ।
२०६८ सालमा स्थापना भई एभरेष्ट कलरले अनुभवी युवाद्वारा नेपाली बजारमा रङ उत्पादन तथा विक्री वितरण गर्दै आएकोे छ ।
आईएसओ ९००१ः२०१५ प्रमाणित यस कम्पनीले अन्तरराष्ट्रियस्तरको अत्याधुनिक प्रविधि, गुणस्तरीय कच्चा पदार्थ प्रयोग गरी नेपाली हावापानीमा सुहाउँदो रङ उत्पादन, अनुसन्धान तथा विकास गर्दै आएको बताइएको छ ।