काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बीच अन्तरदेशीय भुक्तानीसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकको नेपाल पे क्यूआर तथा यसमा इन्टरअपरेबल मर्चेन्ट क्यूआरमा अलिपे प्लसको नेटवर्कमार्फत नेपालमा भुक्तानी गर्न सकिने बताइएको छ ।
यसबाट चीन, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, साउथ कोरिया, स्वीडेन, इटली लगायत देशबाट नेपाल आएका पर्यटकले डोमेस्टिक वालेटमार्फत बैंकको नेपाल पे क्यूआर तथा यसमा इन्टरअपरेबल मर्चेन्ट क्यूआरमा सजिलै भुक्तानी गर्न सक्ने भएका छन् ।
यस प्रकारका सेवाले विदेशी पर्यटकलाई नगद बोक्ने झन्झट नहुनुका साथै नेपालको आर्थिक तथा पर्यटन क्षेत्रको विकासमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा बैंकको छ । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिजा नेटवर्क अन्तर्गतका जुनसुकै बैंकका एटीएमबाट रकम झिक्दा छूटको व्यवस्था गरिएको बताइएको छ ।
बैंकले हालै ‘मोबाइल एक फाइदा अनेक’ सहितको ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा ल्याएको छ । बैंकले डिजिटल सेवामा मात्र नभई विकास बैंकमध्ये नेपालकै पहिलो सामूहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड’ मंसिर २० गतेबाट विक्रीमा ल्याउन लागेको बताइएको छ ।