काठमाडौं । ४२ महीनामा सम्पन्न गर्ने गरी शुरू भएको नागढुंगा सुरूङमार्गको काम ५६ प्रतिशत सकिएको छ । सुरूङ र पहुँचमार्ग (सडक) गरी कुल ५ दशमलव ७ किलोमिटर (किमी)लामो सुरूङमार्गमा हालसम्म ५६ प्रतिशत काम सम्पन्न भएको हो ।
कोरोना भाइरस र बन्दाबन्दीका साथै स्थानीयको अवरोधका बीच आयोजनाले त्यति प्रगति गरेको हो । २०७६ कात्तिकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरूङमार्गको शिलान्यास गरेका थिए । आयोजनाले मंगलवार सार्वजनिक गरेको विवरणअनुसार मुख्य, सहायक, अडिट र क्रस प्यासेज गरी कुल ३ हजार ७२ मिटर काम सम्पन्न भएको छ । त्यसमध्ये मुख्य सुरूङमार्ग पूर्व र पश्चिमतर्फ गरी १ हजार ३७७ मिटर खनिएको छ भने सहायक सुरूङमार्गको दुवैतर्फ गरी १ हजार ५०७ मिटर खनिएको छ । उक्त आयोजनाका अन्य संरचनामध्ये २ ओटा अन्डरपास निर्माण भएका छन् । उक्त आयोजनामा ३ ओटा अन्डरपास वे बनाउने योजना छ । यस्तै ४ ओटा बक्स कल्भर्ट, १ ओभरपास, ३ ओटा ब्रिज निर्माण भइसकेका छन् । फ्लाइओभर निर्माणको चरणमा छ । कोरोना भाइरस र बन्दाबन्दीका कारण र स्थानीयको केही दिनको अवरोधले काम ढिलो भएपछि जापानी निर्माण कम्पनी हाज्मा/आन्दो कर्पाेरेशनले म्याद थपको दाबी गरेको थियो ।
आयोजनाले वस्तुस्थिति मूल्यांकन गरेर करीब ३ महीना म्याद थप गरेको छ । नेपाल सरकार र जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) बीच यो सुरुङमार्ग बनाउने विषयमा सन् २०१६ मा सम्झौता भएको थियो । जापान सरकारको सहुलियत ऋणमा बन्न लागेको उक्त सुरुङमार्गको कुल लागत २२ अर्ब रुपैयाँ छ, जसमध्ये जाइकाले १६ अर्ब र नेपाल सरकारले ६ अर्ब रुपैयाँ बेहोर्ने छ । आयोजनाका अनुसार वित्तीय प्रगति ४५ दशमलव ५० प्रतिशत छ ।