नवलपुर (नवलपरासी) । चार लेनमा विस्तार भइरहेको महेन्द्र राजमार्गको नारायणघाट–बुटवल खण्डअन्तर्गत पूर्वखण्डको प्रगति ५८ प्रतिशत पुगेको छ । नारायणघाट बुटवल सडक योजना पूर्वीखण्डकाअनुसार फागुन मसान्तसम्म यस खण्डको प्रगति ५८ दशमलव ६ प्रतिशत पुगेको हो ।
योजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालकाअनुसार यस खण्डको नारायणघाटबाट दाउन्नेसम्मको ६५ किलोमिटरसडकमध्ये ४५ किलोमिटर सडक कालोपत्र भइसकेको छ । निर्माण पूरा भएका पुलमा लिङ्करोड (पुललाई सडकसँग जोड्ने) निर्माणको काम बाँकी भएकाले पुलबाट भने यातायात सञ्चालन हुन समय लाग्ने उनले बताए ।
दुम्कीबासको विनयी खोलाको पुल आगामी मनसुन अगाडि नै निर्माण गर्नेगरी तीव्र गतिमा काम भइरहेको खनालको भनाइ छ । केही हप्ता अगाडि अत्यधिक भारवहन गरेको ट्रकका कारण पुल भाँचिदा अहिले डाइभर्सन गरी सवारीसाधन सञ्चालन भइरहेको छ । बर्खामा डाइभर्सनबाट यातायात सञ्चालन गर्न कठिन हुने हुनाले बर्खा अगाडि नै नयाँ पुल निर्माण सक्नेगरी काम अगाडि बढाइएको खनालले बताए ।
सडक विस्तारको ठेक्का पाएको चिनीया निर्माण कम्पनी चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ लिमिटेडका ठेक्का सह व्यवस्थापक राकेश झाले अहिले विभिन्न ४२ ठाउँमा सडक विस्तारको काम भइरहेको बताए । फागुपूर्णिमा अगाडिसम्म ६५० जना कामदारले काम गरिरहेको भन्दै उनले होलीको बिदापछि आजबाट काम पुन: शुरू भएको जानकारी दिए ।
अहिले सडक विस्तारका लागि १७ ओटा ग्रेडर, आठ ओटा ठूला मिक्चर (सिमेन्ट र बालुवा घोलेर लिएर हिँड्ने गाडी), नाली निर्माण भएको स्थानमा ३० ओटा साना मिक्चर, ८३ ओटा टिप्पर प्रयोग भइरहेको ठेक्का सह व्यवस्थापक झाले जानकारी दिए । पूर्वी खण्डमा निर्माण हुने २१६ ओटा कल्भर्टमध्ये हालसम्म दुई सय ओटा कल्भर्ट निर्माण पूरा भएका भन्दै उनले दाउन्नेमा नौ ओटा निर्माणाधीन तथा ६ ओटाको काम शुरू गर्न बाँकी रहेको बताए । त्यस्तै दलदलेमा निर्माण हुने कल्भर्टमा विवादका कारण काम रोकिएको उनको भनाइ छ । रासस