काठमाडौं । नबिल बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासनका लागि अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले असार १२ गते बैंकलाई ८ वर्षे अवधिको ७ प्रतिशत ब्याजदर रहेको उक्त ऋणपत्र निष्कासनका लागि अनुमति प्रदान गरेको हो ।
बैंकले ७ प्रतिशत ब्याजदर उल्लेखित नबिल डिबेञ्चर, २०८९ नामको ऋणपत्र निष्कासनका लागि २०८१ असार १४ गते आवेदन दिएको थियो । आवेदन दिएको एक वर्षमा बैंकले अनुमति पाएको हो ।
कुल कित्ता ऋणपत्रमध्ये बैंकले १८ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संस्थामा विक्री गर्नेछ भने १२ लाख कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्नेछ ।
यो ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा बैंकले यी ऋणपत्र निष्कासन गर्नेछ ।