काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ५ अर्ब ४१ करोडभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा कम्पनीको नाफा शून्य दशमलव ४३ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ५ अर्ब ४३ करोडभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको कुल आम्दानी २ प्रतिशतले बढेको छ ।
गत वर्ष रू. ३२ अर्ब ५३ करोडभन्दा बढी रहेको कुल आम्दानी यस वर्ष रू. ३३ अर्ब २० करोडभन्दा बढी भएको हो । ग्राहकबाट हुने आम्दानी भने यस वर्ष घटेको छ । गत वर्ष रू. २८ अर्ब २१ करोडभन्दा बढी ग्राहकबाट आम्दानी गरेको कम्पनीले यस वर्ष रू. २७ अर्ब ३४ करोडभन्दा बढी मात्र यो आम्दानी गरेको हो ।
गत वर्ष रू. ७७ करोड ३१ लाखभन्दा बढी रहेको व्यवस्थापकीय खर्च यस वर्ष रू. ८९ करोड ८७ लाखभन्दा बढी भएको छ । व्यवस्थापकीय खर्च शीर्षकसँगै कम्पनीका अन्य खर्च शीर्षकसमेत बढेका छन् । जसका कारण कम्पनीको नाफामा सामान्य कमी आएको हो ।
हाल कम्पनीको चुक्तापू्ँजी रू. १८ अर्ब रहेको छ । जगेडा कोष रकम भने रू. ७५ अर्ब ४७ करोडभन्दा बढी कायम छ । प्रतिशेयर आम्दानी वार्षिक रू. ४० दशमलव शून्य ९ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ५१९ दशमलव ३ रहेको छ ।