विराटनगर । मेची भन्सार नाकाबाट भारत निकासी हुने चियामा कुनै अवरोध नभएको र भविष्यमा पनि नहुने नेपाली चिया किसानले बताएका छन् । केही दिनअघि दार्जिलिङका चिया किसान र व्यापारीले पश्चिम बंगालकी मुख्यमन्त्रीलाई भेट गरेपछि मेची नाकाबाट भारत निकासी हुँदै आएको चिया निकासीमा प्रतिबन्ध लाग्ने हल्ला फैलिएको थियो । मुख्यमन्त्री ममता बनर्जीलाई त्यहाँका किसानले नेपाली चियाले भारतीय चियाको बजारमा नराम्रो प्रभाव पारेको भन्दै प्रतिबन्ध लगाउनुपर्ने माग गरेका थिए । बनर्जीले पनि प्रतिबन्ध लगाउने आश्वासन दिएपछि उक्त हल्ला फैलिएको हो । नेपालको चियाले विदेशमा समेत उत्कृष्ट आठ विधामा अवार्ड पाएपछि दार्जिलिङका चिया व्यापारी आत्तिएकाले अंकुश लगाउने प्रयास भइरहेको यहाँका किसानले प्रतिक्रिया दिएका छन् ।
दार्जिलिङका चिया व्यापारीले नेपाली चियाको भारत निकासी रोक्नुपर्ने माग पश्चिम बंगालकी मुख्यमन्त्री बनर्जीसँग राखेपछि केही अड्कलबाजी गरिए पनि अहिले चिया निकासी सुचारु रहेको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले जानकारी दिए ।
दार्जिलिङका किसान र व्यापारीले आफ्नो मुख्यमन्त्रीलाई भेटेर आफ्ना कुरा राख्नु स्वाभाविक भएको उनले उल्लेख गरे । आफूहरूले पनि नेपाली चिया निर्बाध निकासी र गैरभन्सार अवरोधको विषयमा नेपाल सरकारलाई पटक पटक ध्यानाकर्षण गराउने गरेकाले यस्ता विषयलाई अतिरञ्जित गर्नु नपर्ने उनले बताए । ‘भारतले नेपालको चियामा प्रतिबन्ध लगाउने भन्ने हुँदैन । किनकि भारतबाटै त्यहाँका व्यापारीले नेपाली चियालाई अन्तरराष्ट्रिय बजारमा पुर्याइरहेका छन् । त्यसले विदेशी मुद्रा आर्जनमा नेपाललाई भन्दा बढी भारतलाई फाइदा भइरहेको छ,’ पराजुलीले भने, ‘एक–अर्को देशको उत्पादन बन्द गराउने भन्दा पनि गुणस्तरमा सुधार गरेर बजार बढाउने विषय महत्त्वपूर्ण हुन्छ ।’
भारतीय चियाको वार्षिक उत्पादन र नेपाली चियाको वार्षिक उत्पादनबीच निकै ठूलो अन्तर छ । नेपाली चियाको उत्पादन भारतको तुलनामा निकै थोरै छ । त्यसैले नेपाली चियाले सिंगो भारतीय उत्पादनलाई असर गर्दैन । तर नेपाली हरियो पत्तीमा निर्भर भारतीय चिया उद्योगलाई भने केही असर पर्ने उनले बताए ।
दुई वर्षअघि चीनमा भएको चियाको गुणस्तर प्रतिस्पर्धामा नेपालका १० नमूना चिया उत्कृष्ट ठहरिएपछि दार्जिलिङका चिया उत्पादक झस्किएका थिए । नेपाली चियाको अन्तरराष्ट्रिय बजार प्रभावित बनाउन उनीहरूले विभिन्न बखेडा झिक्ने गरेको नेपाल टी प्लान्टर एशोसिएनका अध्यक्ष उदय चापागाईंले बताए ।
दार्जिलिङका चियाका बोट दुई सय वर्षसम्म पुराना भएकाले पनि गुणस्तर खस्किएको छ । तर नेपालमा चियाका नयाँ बोट भएको र उत्पादनको गुणस्तर उच्च रहेकाले विश्वबजारमा माग बढेको छ ।
चीनमा भएको चियाको गुणस्तर परीक्षण कार्यक्रममा विश्वका प्रमुख चिया उत्पादक राष्ट्रहरू चीन, भारत, केन्या, श्रीलंका जस्ता देशसँग नेपाली चियाको प्रतिस्पर्धा भएको थियो, जसमा तीनजुरे चिया कृषक सहकारी संस्थाद्वारा उत्पादित पर्ल गोल्डेन चियाले ‘गोल्डेन अवार्ड’ पाएको थियो भने फार्मर चिया प्रशोधन उद्योगले उत्पादन गरेको एफटी हिमालयन गोल्डेन, सांग्रिला गोल्डेन, जिटिई–गोल्डेन, सिल्भर विंग्स र गोल्डेन टिप्स चियाले ‘गोल्डेन मेडल’ जितेको थियो । यस्तै अन्य चियाले पनि गुणस्तरका विभिन्न अवार्ड जितेका थिए ।
भारतको वार्षिक उत्पादनको तुलनामा नेपालको चियाको उत्पादन परिमाण एक प्रतिशत मात्र भए पनि भारतीय व्यापारीले विभिन्न बहानामा नेपालको चियालाई प्रतिबन्ध लगाउने प्रयास गरिरहेको चापागाईंले बताए । नेपाली चियालाई यसअघि पनि विभिन्न अवरोध भएको र ती अवरोध दुई देशको सरकारी स्तरबाट समाधान हुँदै आएको उनले उल्लेख गरे ।
आर्थिक वर्ष (आव) २०८०/२०८१ को तुलनामा आव २०८१/२०८२ मा चियाको निकासी बढेको छ । गत आवको साउनदेखि कात्तिकसम्मको तुलनामा चालू आवको सोही अवधिमा ८९ करोड १४ लाख ४ हजार रुपैयाँ बढीको २४ लाख ८१ हजार ८ सय ११ किलोग्राम चिया निकासी भएको मेची भन्सारको तथ्यांक छ । गत आवको पहिलो चार महीनामा १ अर्ब ३१ करोड ३४ लाख ३६ हजार रुपैयाँ बराबरको ५५ लाख ८० हजार ९ सय ५३ किलोग्राम चिया निकासी भएको थियो भने चालू आवको सोही महीनामा दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको ८० लाख ६२ हजार १ सय ६४ किलोग्राम चियाको निकासी भएको छ ।