काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमवार पाँच कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । सिभिल बैंक, आइसिएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी, सिवाईसी नेपाल लघुवित्त र पोखरा फाइनान्सको शेयर मूल्य समायोजन गरिएको हो ।
मंगलवार यी कम्पनीहरूले आगामी वार्षिक साधारण सभाका लागि बुक क्लोज गर्ने भएकाले प्रस्तावित बोनस शेयर प्रयोजनका लागि नेप्सेले मूल्य समायोजन गरेको हो । नेप्सेले यी बैंकको पुस १८ गतेसम्म कायम अन्तिम शेयर मूल्यको आधारमा मूल्य समायोजन गरेको छ । मंगलवार समायोजनपछिको मूल्यको आधारमा यी कम्पनीको शेयर कारोबार खुला हुनेछ ।
बुक क्लोजको आधारमा यी कम्पनीको प्रस्तावित लाभांश पुस १८ गतेसम्म कायम शेयरधनीहरूले मात्र प्राप्त गर्नेछन् । समायोजनपछिको मूल्यको आधारमा मंगलवारदेखि यी कम्पनीका शेयर खरीद गर्ने लगानीकर्ताहरूले भने लाभांश प्राप्त गर्ने छैनन् ।
सिभिल बैंकको सोमवार कायम अन्तिम शेयर मूल्य रू. २५० को आधारमा नेप्सेले ५ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. २३८ दशमलव १० कायम गरेको छ । सिभिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट बोनस शेयरसँगै कर प्रयोजनको लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ ।
त्यस्तै आइसिएफसी फाइनान्सको सोमवार कायम अन्तिम शेयर मूल्य रू. ४६८ को आधारमा नेप्सेले ५ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ४४५ दशमलव ७१ कायम गरेको छ । आइसिएफसी फाइनान्सले गत आवको मुनाफाबाट उक्त बोनस शेयरसँगै करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ ।
त्यस्तै श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सोमवार कायम अन्तिम शेयर मूल्य रू. ३३७ को आधारमा नेप्सेले २ दशमलव ४० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ३२९ दशमलव १० तोकेको छ । यस कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट उक्त बोनस शेयरसँगै ५ दशमलव २० प्रतिशत करसमेत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ ।
पोखरा फाइनान्सको ४ प्रतिशत बोनस शेयरमा समेत नेप्सेले मूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीको सोमवार कायम अन्तिम शेयर मूल्य रू. ३८८ को आधारमा बोनसपछिको मूल्य रू. ३७३ दशमलव शून्य ८ तोकेको हो । पोखरा फाइनान्सले यस वर्ष बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २१ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको छ । पोखरा फाइनान्सले पुस २९ गते साधारण सभा बोलाएको छ ।
सिवाईसी नेपाल लघुवित्तको ३० प्रतिशत बोनस शेयरपछिको मूल्य नेप्सेले रू. १ हजार ९२९ दशमलव २३ तोकेको छ । नेप्सेले कम्पनीको सोमवार कायम अन्तिम शेयर मूल्य रू. २ हजार ५०८ का आधारमा ३० प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । कम्पनीले गत वर्षको मुनाफाबाट ३० प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांशसमेत दिने प्रस्ताव गरेको छ । प्रस्तावित यो लाभांश पारितका लागि कम्पनीले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ ।