काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधवार (आज) नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन गरेको छ ।
नेप्सेले कम्पनीले प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । बुधवार कम्पनीको कायम अन्तिम शेयर मूल्य ९९५ रुपैयाँ १० पैसाको आधारमा नेप्सेले बोनस शेयरपछिको मूल्य ८६५ रुपैयाँ ३० पैसा तोकेको हो । बिहीवार (भोलि) समायोजन मूल्यका आधारमा कम्पनीको शेयर कारोबार खुला हुनेछ ।
यस कम्पनीले प्रस्तावित लाभांश तथा वार्षिक साधारण सभा प्रयोजनका लागि बिहीवार बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा नेप्सेले बोनस शेयरपछिको मूल्य तय गरेको हो । मूल्य समायोजनअघिको कारोबार अर्थात् बुधवारसम्म कायम शेयरधनीहरू मात्र कम्पनीको लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीले चैत १९ गते वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार रुपैयाँ छ । बोनस शेयरपछि कायम चुक्तापूँजीको आधारमा ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि कम्पनीले गरेको छ ।