काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचकसँगै कारोबार रकममा वृद्धि भएको छ । यससँगै नेप्से ४ दशलमव ६३ अंक बढेर २ हजार ५८६ दशमलव २३ विन्दुमा कायम भएको हो ।
अघिल्लो कारोबार दिन रू. ३ अर्ब ५९ करोड बराबरको कारोबार भएकोमा आज रू. ४ अर्ब ६० करोड बराबरको कारोबार भएको हो ।
कारोबारमा आएका धितोपत्रमध्ये १५६ धितोपत्रको मूल्य बढेको छ भने ७७ ओटाको घटेको छ । ४ अंकमात्रै बजार बढ्दा लगानीकर्ताको आकर्षण विकास बैंकको शेयरमा परेको छ । यस समूहको सूचक सबैभन्दा बढी २ दशमलव ४० प्रतिशत वद्धि भएको छ । त्यस्तै जलविद्युत् समूहको सूचक १ दशमलव ८७ प्रतिशत वृद्धि भएको छ ।
यस दिन फ्लोट इन्डेक्स शून्य दशमलव ३६ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव १० प्रतिशत वृद्धि भएको छ भने सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १२ प्रतिशत घटेको छ ।
आज ३१५ धितोपत्रको १ करोड ८६ हजार ७०५ कित्ता शेयर ५० हजार ४४७ पटक कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये न्यादी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४९५ कायम भएको छ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशत बढेर रू. २ हजार १७५ कायम भएको छ ।
बिहीवार सबैभन्दा बढी सपोर्ट लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ५ दशलमव ०२ प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ७६० मा झरेको हो ।
त्यस्तै जानकी फाइनान्सको शेयर मूल्य ३ दशमलव ६३ प्रतिशत घटेर रू. ७४७ दशमलव ८० कायम भएको छ ।
बिहीवार सर्वाधिक शेयर खरीदविक्री प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयरको भएको छ । यस कम्पनीको रू. ४६ करोड १७ लाख बराबरको संस्थापक शेयरको भएको हो । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा न्यादी हाइड्रोपावरको रू. २० करोड ७२ लाख बराबरको भएको छ ।
आज कारोबारमा आएका १३ समूहगत सूचकमध्ये आठ समूहको सूचक बढेको छ भने बाँकी समूहको सूचक घटेको छ । तीमध्ये विकास बैंक समूहको सूचक सबैभन्दा बढी २ दशमलव ४० प्रतिशत वृद्धि भएको छ भने व्यापार समूहको सूचक सबैभन्दा बढी २ दशलमव ०३ प्रतिशत घटेको छ ।