काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९ दशमलव ४० प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. २५ करोड ५१ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. २७ करोड ९१ लाख पुगेको हो । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
कम्पनीको कुल आम्दानी गत आवमा रू. ११ अर्ब ५८ करोड रहेकोमा चालू आवमा बढेर रू. १३ अर्ब ९ करोडभन्दा बढी पुगेको छ । त्यस्तै कम्पनीको खुद बीमाशुल्क गत आवमा रू. ८ अर्ब ३८ करोड रहेकोमा चालू आवमा बढेर रू. ९ अर्ब ४८ करोडभन्दा बढी पुगेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी सामान्य वृद्धि भएको छ । गत आवमा १० रुपैयाँ १८ पैसा रहेको कम्पनीको प्रतिशेयर आम्दानी चालू आवमा बढेर १० रुपैयाँ ७५ पैसा पुगेको छ । त्यस्तै कम्पनीको जीवन बीमा कोषमा रू. ७७ अर्ब ९५ करोडभन्दा बढी रहेको छ ।
चुक्तापूँजी रू. ५ अर्ब २१ करोड रहेको कम्पनीले शेयर प्रिमियममा रू. २ करोड ७८ लाख, महाविपत्ति कोषमा रू. ५९ करोड ७६ लाख, रिटेन्ड अर्निङमा रू. ७३ करोड ९३ लाख र अन्य इक्वीटीमा रू. ४० करोड ७८ लाख सञ्चिति गरेको छ ।