चितवन । जङ्गली जनावरका कारण चालु आर्थिक वर्षमा ३१५ घटना भएका छन् । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ती घटना भएका हुन् । ती घटनाबाट ६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार घाइतेमध्ये सामान्य घाइते ९ र गम्भीर घाइते ८ जना भएका छन् । गैँडाको आक्रमणबाट २, बाघको आक्रमणबाट ३ र गोहीको आक्रमणबाट १ जनाको मृत्यु भएको हो । हात्तीको आक्रमणबाट सबैभन्दा धेरै रहेका छन् । हात्तीको आक्रमणबाट ७ , गैँडाको आक्रमणबाट ५, बाघको आक्रमणबाट ४ र गोहीको आक्रमणबाट १ जना घाइते भएका छन् ।
तिवारीका अनुसार चालु आर्थिक वर्षमा वन्यजन्तुका कारण पशुधनमा क्षति ८४, भण्डारण गरिएको अन्नको क्षति ६ पटक, घरगोठमा क्षति २० पटक र अन्नबालीमा क्षति २०५ पटक भएको छ । वन्यजन्तुका कारण क्षति भएबापत निकुञ्जले चालु आर्थिक वर्षमा १ करोड ५ लाख ५१ हजार ६२४ रूपैयाँ राहत प्रदान गरेको उनले जानकारी दिए ।
गत आवमा भएका सात सय ८४ घटनामा नौ जनाको मृत्यु भएको थियो भने ५५ जना घाइते भएका थिए । घाइतेमध्ये ३६ गम्भीर र १९ जना सामान्य रहेका थिए । सो आवमा एक सय ८५ पशुधन क्षति, भण्डार गरेको अन्नबाली आठ पटक, घरगोठमा क्षति २७ पटक र अन्नबालीमा क्षति ५०० पटक पुर्याएको तिवारीले बताए ।
त्यस वर्ष निकुञ्जले २ करोड २ लाख २ हजार ८४४ राहत रकम उपलब्ध गराएको थियो । निकुञ्जमा रहेका हात्ती, गैँडा, बाघ, भालु, चितुवा, ब्वाँसो, जङ्गली बँदेल, गोही, गौरीगाई, अजिङ्गर, बाँदरजस्ता जनावरले मानव बस्तीमा स्थानीयलाई दुःख दिने गरेका छन् । रासस