काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले यही पुस २६ गते २६औं वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंमा बिहान १० बजे शुरु हुने कम्पनीले जनाएको छ ।
कम्पनीले गत आर्थिक वर्ष (आव)को मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । सभाले गत आव २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले यस कम्पनीले अन्य इजाजत प्राप्त 'घ' वर्गका एक वा एकभन्दा बढी कम्पनीलाई मर्ज तथा प्राप्ति गर्न उपयुक्त देखिएमा सोसम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १२ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा पुस ११ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।