काठमाडौं । विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानीमा सञ्चालित नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआईपी)अन्तर्गत सञ्चालित उपआयोजना सञ्चालन गरिरहेको एक सहकारी उदाहरणीय बनेको छ । आयोजनाको गण्डकी कलस्टरअन्तर्गत नवलपरासी पूर्वको गैंडाकोटमा मुकुन्द सेन दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको उपआयोजना हो, मुकुन्दसेन दाना उद्योग । यो उपआयोजनाले हाल दैनिक १२ टन दाना उत्पादन गरिरहेको छ ।
दैनिक २४ टन दाना उत्पादन क्षमता भएको उद्योगले दैनिक १२ टन दाना उत्पादन गरिरहेको संस्थाका अध्यक्ष गोपाल श्रेष्ठले बताए । क्षमताभन्दा कम उत्पादन हुनुमा विद्युत् आपूर्तिको अनियमितताका साथै दाना उत्पादनका लागि आवश्यक कच्चा पदार्थको सहज आपूर्ति हुन नसक्नु श्रेष्ठको भनाइ छ ।
उनका अनुसार उद्योगले पेलेट (गोटी) र धूलो गरी दुई किसिमका दाना उत्पादन गरिरहेको छ । चालू आर्थिक वर्षको पुस १ गतेदेखि उत्पादन शुरू गरेको उद्योगमा प्रतिघण्टा २ टन दाना उत्पादन भइरहेको छ । ‘हाम्रो उद्योगको क्षमता दैनिक २४ टन हो । ८ घण्टा मात्रै सञ्चालन हुँदा पनि १६ टनको परिमाणमा दाना उत्पादन हुनुपर्ने हो,’ श्रेष्ठले भने, ‘विद्युत् आपूर्ति अनियमित हुँदा हाल १२ टन मात्र उत्पादन भइरहेको छ ।’
एनएसएलआईपी परियोजनाको अनुदान सहयोगमा सञ्चालन भएको दाना उद्योगकै कारण दुध उत्पादन पनि बढेको श्रेष्ठले बताए । आयोजनाले उपलब्ध गराएको ५० प्रतिशत अनुदान सहयोग, ३० प्रतिशत वित्तीय ऋण सहयोग र २० प्रतिशत स्वलगानीमा सञ्चालित दाना उद्योगबाट उत्पादित गुणस्तरीय दानाका कारण दुध उत्पादन पनि बढेको तथा पशुमा लाग्ने रोगमा पनि कमी भएको उनको भनाई छ ।
आयोजनाको मिडिया अनुगमनमा पुगेका पत्रकारहरूसँग कुरा गर्दै श्रेष्ठले भने, ‘आफ्नै उद्योग भएकोले दाना अभाव हुने डर किसानलाई छैन, दुध उत्पादन पनि बढेको छ ।’ पहिले दैनिक ९ हजार लिटर दुध उत्पादन गर्दै आएको संस्थाले हाल १४ हजार लिटर उत्पादन गर्दै आएको उनले जानकारी दिए ।
दाना बनाउने कच्चा पदार्थ स्वदेशमा नपाइँदा असहज
दानाका लागि चाहिने ११ प्रकारका कच्चा पदार्थ अधिकांश स्थानीय प्रयोग गरेको भए पनि केही कच्चा पदार्थ भारतबाटै आउने तथा सहज उपलब्ध नहुँदा समस्या पर्ने गरेको उनले बताए । ‘सबै खाले कच्चा पदार्थ नेपालमा पाइँदैन, सम्भव भएसम्म स्थानीय नै प्रयोग गरिरहेका छौं,’ उनले भने, ‘कपासको पिना अत्यन्त पौष्टिक मानिन्छ, त्यो भारतबाट आयात गर्नुपर्छ, मकै पनि भारतबाटै आयात गर्नुपर्छ ।’
उद्योगले मासिक ३ सय ६० टन दाना उत्पादन गरिरहेकोमा मासिक ९० टन दाना सहकारीमा आवद्ध किसानहरूले खपत गरिरहेको तथा बाँकी दाना स्थानीय बजारमा विक्री हुने गरेको श्रेष्ठले बताए । उनका अनुसार उत्पादन वृद्धि गरी विराटगर, भैरहवालगायत देशका अन्य स्थानमा समेत विक्री गर्ने योजना सहकारीको रहेको बताए । सहकारीले पेलेट दाना प्रतिकेजी ५० रुपैयाँ र धुलो दाना किलोको ४८ रुपैयाँमा विक्री गरिरहेको छ ।
सहकारीका शेयर सदस्य बुद्धिबहादुर कडरियाका अनुसार यसअघि बजारमा प्रतिकेजी ५५ रुपैयाँमा खरीद गर्दै आएको दाना ५० रुपैयाँमा नै पाएको बताए । बजारको दाना खुवाउँदा पशु बिरामी पर्ने, ढाडिने, थुनेलो हुने जस्ता समस्या देखिने गरेको तर हाल आफ्नै उद्योगबाट उत्पादन भएको दाना खुवाउँदा दुध उत्पादन पनि बढेको तथा त्यस्ता समस्या नदेखिएको उनले बताए । हाल उनको गोठमा ४५ ओटा गाई छन् ।
उद्योगले गुणस्तर र स्वस्थ्यकर दाना उत्पादनमा ध्यान दिएकाले किसान खुसी रहेको अध्यक्ष श्रेष्ठले बताए । ‘हामीले दिएको दाना खाएकै पशुको दुध हाम्रोमा आउने हो । दानकै कारण पशुमा समस्या आए हाम्रै सदस्यलाई र उत्पादन घटे हामीलाई नै समस्या पर्छ । त्यसैले स्वस्थकर दाना दिएका छौं, यसले दुवैलाई फाइदा हुने रहेछ,’ श्रेष्ठले भने ।
वार्षिक ४० करोडको कारोबार, दुध संकलनबाट विविधीकरणतर्फ
९ सय २५ जना सदस्य रहेको सहकारीले हाल १४ हजार लिटर दूध संकलन गरिरहेको छ । किसानबाट बिहान र बेलुकी गरी दुई चरणमा दूध संकलन गर्ने उक्त सहकारीले गत वर्ष ४० करोड बराबरको कारोबार गरेको थियो । यो सहकारी उत्पादनमा मात्रै नभइ विविधीकरणमा समेत लागेको छ । सहकारीले दुग्धजन्य मिठाइ बनाएर पनि विक्री गरिरहेको छ ।
सहकारीले भौतिक संरचना निर्माणमा मात्रै ५८ लाख रुपैयाँ खर्च गरेको अध्यक्ष श्रेष्ठले बताए । उद्योग स्थापनामा मात्रै कूल १ करोड ९४ लाखभन्दा बढी लगानी गरेको संस्थाले विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानीमा सञ्चालित नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाबाट ९७ लाख ३६ हजारभन्दा बढी रकम अनुदान पाएको छ ।
आफ्नै उद्योगको दाना उपलब्ध गराउँदै आएको यस सहकारीले किसानको लागि दुध उत्पादन र पशु स्याहारमा प्राविधिक सहयोगसमेत गर्दै आएको छ । संस्थाले किसानले उत्पादनको उचित मूल्य पाउन भन्ने उद्देश्यले न्यून मार्जिन राखेर दुध विक्री गरिरहेको छ । उनका अनुसार सहकारीले प्रतिलिटर ७६ रुपैयाँमा किसानबाट दूध खरीद गरी बजारमा ७८ रुपैयाँमा विक्री गरिरहेको छ । ‘हाम्रो उद्देश्य भनेको किसानले पूरा मूल्य पाउन भन्ने हो । दानामै खर्च कम गराएका छौं भने सामान्य अप्रेसन खर्च प्रतिलिटर १ रूपैयाँ मात्रै राखेर दुधको मूल्य निर्धारण गरिएको छ,’ अध्यक्ष श्रेष्ठले भने ।
दशैंमा किसानलाई बोनस
वार्षिकरूपमा दुध उत्पादन गर्दै आएका कृषकलाई बोनसस्वरूप केही रकम उपलब्ध गराउँदै आएको संस्थाले चाडवाड खर्चस्वरूप छुट्टै बोनस दिने गरेको श्रेष्ठले बताए । ‘संस्थाले कमाएको आम्दानी पनि शेयर सदस्यकै हो, त्यसबाहेक ठूला चाडवाडमा किसानलाई राहत होस् भनेर दशैं बोनससमेत दिने गरेका छौं,’ श्रेष्ठले भने ।
आयोजनाको दुग्ध उत्पादन श्रृङ्खलाअन्तर्गत दुग्धजन्य वस्तुको उत्पादनमा वृद्धि तथा बजारीकरणमा किसानलाई सहयोग गर्दै आएको आयोजनाले देशैभर ५ सय ३७ उपआयोजना सञ्चालन गरिरहेको आयोजनाका कृषि अर्थविज्ञ सुशील खड्काले बताए । दुग्ध, मासु र पस्मिना उत्पादन वृद्धि गरी देश आत्मनिर्भर गराउने उद्देश्यले उत्पादनका तीन श्रङ्खलामा किसानलाई सहयोग गर्दै आएको आयोजनाले प्रविधि, भौतिक संरचना निर्माण तथा पशु खरीदमा त्रिपक्षीय लगानी मोडेल अनुसार सहयोग गर्दै आएको छ ।