वासिङ्टन । अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टसले संघीय न्यायाधीशलाई महाभियोग लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आह्वानलाई लिएर सार्वजनिक रुपमा कडा आलोचना गरेका छन् । ट्रम्पले जिल्ला न्यायाधीश जेम्स बोसबर्गमाथि महाभियोग लगाउन माग गरेपछि रोबर्टसले राष्ट्रपति ट्रम्पलाई असाधारण रूपमा आलोचना गरेका हुन ।
अमेरिकी जिल्ला अदालतका न्यायाधीश थियोडोर चुआङले एलोन मस्क नेतृत्वको अमेरिकी ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डोज )’ द्वारा प्रमुख अमेरिकी सहायता एजेन्सी बन्द नगर्न मंगलबार आदेश दिएका थिए । न्यायाधीश चुआङले मस्क र डोजले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएड) लाई विघटन गर्नुले अमेरिकी संविधानको धेरै किसिमले उल्लङ्घन गरेको हुनसक्ने बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सरकारको खर्च र रोजगारी कटौती गर्न अर्बपतिको कानुनी अधिकारलाई चुनौती दिँदै यूएसएडका वर्तमान र पूर्व कर्मचारी र ठेकेदारहरूले दायर गरेको मुद्दाको जवाफमा चुआङले यस्तो आदेश दिएका थिए ।
सोही आदेशमाथि प्रतिक्रिया दिंदै राष्ट्रपति ट्रम्पले न्याधीशलाई महाअभियोग लगाउने चेतावनी दिएका थिए । ट्रम्पको यस्तो प्रतिक्रिया पछि रोबर्टसद्वारा जारी गरिएको एक संक्षिप्त वक्तव्य उनले भनेका छन्, “दुई शताब्दीभन्दा बढी समयदेखि यो मान्यता स्थापित भएको छ कि महाभियोग न्यायिक निर्णयसँग सम्बन्धित असहमतिको लागि उपयुक्त प्रतिक्रिया होइन।” “यसका लागि सामान्य पुनरावलोकन प्रक्रियाको व्यवस्था गरिएको छ ।”
ह्वाइट हाउसले राष्ट्रपतिका केही कार्यकारी कार्यहरूलाई अवरोध गर्ने जिल्ला अदालतहरूको कडा आलोचना गर्दै आएको छ। यद्यपि, ट्रम्पले जनवरीमा पदभार ग्रहण गरेयता व्यक्तिगत रूपमा न्यायाधीशको महाभियोगको आह्वान गरेको यो पहिलो घटना हो । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मिडियामा भनेका छन्, “दुःखको कुरा बाराक हुसेन ओबामाले, कट्टरन्थी समाजवादी कार्यकर्ता बोसबर्गलाई ‘एक न्यायाधीश’को रूपमा नियुक्त गर्नुभयो ।”
पोस्टमा उनले भनेका छन्, “धेरै कुटिल न्यायाधीशहरू जस्तै यी न्यायाधीश अगाडि उपस्थित हुन म बाध्य छु। महाभियोग !! हुनुपर्छ।” त्यसको केही घण्टापछि टेक्सासका रिपब्लिकन सांसद ब्रान्डन गिलले सामाजिक सञ्जाल एक्समा बोसबर्गविरुद्ध सदनमा महाभियोगका लेखहरू प्रस्तुत गरेको घोषणा गरेका छन् । रोबर्टसको दुर्लभ भनाइपछि राष्ट्रपति ट्रम्पले अर्को पोस्टमा भनेका छन्, “यदि कुनै राष्ट्रपतिलाई हत्यारा र अन्य अपराधीहरूलाई देशबाट बाहिर फ्याँक्ने अधिकार हुँदैन भने हाम्रो देश धेरै ठूलो सङ्कटमा पुग्नेछ र असफल हुनेछ।”
"कट्टरपन्थी वामपन्थी न्यायाधीश राष्ट्रपतिको भूमिका सम्हाल्न चाहन्छन्,” उनले थप्नुभयो । अमेरिकी सङ्घीय न्यायाधीशहरू सधैँ राष्ट्रपतिद्वारा मनोनीत हुन्छन् र ‘उच्च अपराध वा दुराचार’ को लागि प्रतिनिधि सभाद्वारा महाभियोग लगाई र सिनेटद्वारा दोषी ठहर गरेर मात्र हटाउन सकिन्छ। सङ्घीय न्यायाधीशहरूको महाभियोग अत्यन्त दुर्लभ छ र पछिल्लो पटक सन् २०१० मा अमेरिकी कङ्ग्रेसले एक न्यायाधीशलाई हटाएको थियो। युनिभर्सिटी अफ रिचमन्डका कानुनका प्राध्यापक कार्ल टोबियासले रोबर्टसविरूद्धको हस्तक्षेपलाई ‘अत्यन्त दुर्लभ’ भनेका छन् ।
उनले ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सङ्घीय न्यायाधीशको निर्णयको आलोचना गरेपछि प्रधान न्यायाधीशले यस्तै टिप्पणी गरेको स्मरण गरे । टोबियासले भने, “रोबर्टसले सङ्घीय बेन्चमा ओबामा न्यायाधीश, ट्रम्प न्यायाधीश, बुश न्यायाधीश वा क्लिन्टन न्यायाधीशहरू छैनन् भनेर जवाफ दिन बाध्य भएका छन् ।”
न्याधिशहरुले अमेरिकी संविधानको ‘नियुक्ति खण्ड’ अन्तर्गत मस्कले आफ्नो अधिकार प्रयोग गर्न सिनेटको अनुमति पुष्टि गर्नुपर्ने तर्क गरेका छन् । न्यायाधीश चुआङले मस्कलाई सरकारमाथि अथाह शक्ति प्रयोग गर्न अनुमति दिने हो भने संविधानको ‘नियुक्ति खण्ड’ को करिब अन्त्यको ढोका खोल्न’ र यसले ‘प्राविधिक औपचारिकता बाहेक अरू केही होइन’ मा सीमित गर्ने बताएका छन् । चुआङले मस्क र डोजको कार्यले सन् १९६१ मा कंग्रेसले स्थापना गरेको युएसएडलाई कहिले र कसरी बन्द गर्ने भन्ने निर्णय गर्ने कंग्रेसको अधिकारको उल्लङ्घन गरेको बताएका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गत साता विश्वभर मानवीय सहायता वितरण गर्ने युएसएडका ८३ प्रतिशत कार्यक्रम रद्द गर्ने र करिब १२० देशमा स्वास्थ्य र आपतकालीन कार्यक्रम गर्ने बताएका थिए । अदालतको यो फैसला ट्रम्पको लागत कटौती र सरकारी कर्मचारी कटौती अभियानका लागि पछिल्लो कानूनी झट्का हो ।
अर्का एक न्यायाधीशले हालै मस्कको डोजले बर्खास्त गरेका विभिन्न एजेन्सीमा कार्यरत हजारौँ परीक्षण कालका कामदारलाई पुनः नियुक्त गर्न आदेश दिएका छन् । चुआङले इमेल र अन्य इलेक्ट्रोनिक प्रणालीमा पहुँच हालका यूएसएड कर्मचारी र ठेकेदारहरूलाई पुनर्स्थापित गर्न आदेश दिएका छन् । रासस/एएफपी