चितवन। भरतपुरमा न्यून आय भएका महिलालाई लक्षित गरी ४५दिने ब्युटिसियन तालीम शुरू गरिएको छ । उद्योग वाणिज्य संघ चितवन र भरतपुर महानगरपालिका–१ को संयुक्त आयोजनामा आइतवारदेखि तालीम शुरू गरिएको हो ।
भरतपुर–१ का वडाध्यक्ष केशव महर्जनले महिलाले शीप सिकेर आत्मनिर्भर बन्दा महिला हिंसामा समेत कमी आउने बताए । ‘तालीमबाट सिकेपछि यसलाई आम्दानीको क्षेत्रमा लैजानुपर्छ, यसले महिलालाई आत्मनिर्भर उद्यमी बन्न प्रेरणा मिल्छ,’ उनले भने ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले महिला उद्यमशीलता विकासका लागि संघले निरन्तर कार्यक्रम आयोजना गर्दै आएको बताए । सौन्दर्यकला व्यवसाय आफै आत्मनिर्भर र स्वरोगजारमूलक व्यवसाय हुनुका साथै मानव स्वास्थ्यसँग पनि सम्बन्धित भएकोले यसलाई थप व्यावसायिक र उत्तरदायी बनाउनुपर्ने सुवेदीको भनाइ थियो ।
कार्यक्रममा तालीमको मुख्य प्रशिक्षक योगिता पियाले तालीमका बारेमा जानकारी गराउँदै तालीमबाट सिकेको शीपलाई आर्थिक उत्पादनमा जोड्न निरन्तर प्रयास गर्नुपर्ने बताइन् । उद्योग वाणिज्य संघ चितवनका तृतीय उपाध्यक्ष नारायण प्रधानले तालीमका सहभागीलाई आत्मनिर्भर बनाउन संघले साथ दिने बताए ।