कराँची (पाकिस्तान) । पाकिस्तानमा नयाँ सरकार गठनका लागि पाकिस्तान तहरीक–ए–इंसाफ (पीटीआई) बाहेकका ६ दलको गठबन्धन बनेको छ ।
नयाँ सरकार बनाउनका लागि पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल–एन) नेतृत्वको गठबन्धन बनेको हो, जसमा पीएमएल–एनसहित पाकिस्तान पीपल्स पार्टी (पीपीपी), पाकिस्तान मुस्लिम लीग–क्यू (पीएमएल–क्यू), मुत्ताहिदा कौमी मूभमेन्ट (एमक्यूएम), इश्तेखाम–ए–पाकिस्तान पार्टी (आईपीपी) र बलूचिस्तान अवामी पार्टी छन् । उक्त गठबन्धनलाई पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) नाम दिइएको छ ।
गठबन्धन घोषणाका लागि गरिएको पत्रकार सम्मेलनमा पीपीपीका सह–अध्यक्ष आसिफ अली जरदारी, पीएमएल–एनका नेता तथा पूर्वप्रधानमन्त्री शाहबाज शरीफ, पीएमएल–क्यूका नेता चौधरी शुजात हुसैन, एमक्यूएमका नेता खालिद मकबूल सिद्दीकी, आईपीपीका अलीम खान र बलूचिस्तान अवामी पार्टीका नेता सादिक संजरानी सहभागी थिए । उक्त गठबन्धनसँग संसदमा बहुमत छ ।
पत्रकार सम्मेलनमा पीपीपीका सह–अध्यक्ष आसिफ अली जरदारीले पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इंसाफ (पीटीआई)लाई पनि सरकारमा सहभागी हुन निम्तो दिएका छन् ।
उनले भने, ‘हामीले एकअर्काविरुद्ध चुनाव लड्यौं । तर, अब हामी सबै मिलेर देशलाई अफ्ठ्यारो स्थितिबाट बाहिर निकाल्नुपर्नेछ । देशलाई आर्थिक मुस्किलबाट बाहिर निकाल्नका लागि सबैले एकजुट हुनुपर्नेछ ।’
गठबन्धनमा सहभागी भए पनि पीपीपी भने सरकारमा सहभागी नहुने भएको छ । सरकार बनाउनले लगायत मुद्दामा आफ्नो पार्टीले पीडीएमलाई समर्थन गर्ने पीपीपीका नेता बिलावल भुट्टोले बताएका छन् ।
पार्टीको बैठकपछि उनले भने, ‘हामी सरकारको हिस्सा बन्ने स्थितिमा छैनौं । न त कुनै मन्त्रालयमा महत्त्वपूर्ण पद चाहेका छौं । तर, हामी देश र राजनीतिमा अराजकता चाहँदैनौं । हामी देशमा राजनीतिक संकट चाहँदैनौं ।’
नयाँ सरकारका लागि पीएमएल–एन र पीपीपीबीच यसअघि नै सहमति भइसकेको थियो ।
शहबाज शरीफ प्रधानमन्त्रीको उम्मेदवार
उक्त गठबन्धनबाट पीएमएल–एन पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री मोहम्मद शहबाज शरीफलाई प्रधानमन्त्रीको उम्मेदवार बन्ने भएका छन् ।
पार्टी प्रवक्ता मरियम औरंगजेबले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । मंगलवार राति सामाजिक सञ्जाल ‘एक्स’मा उनले लेखेका छन्, ‘पीएमएल–एन प्रमुख नवाज शरीफले पार्टी अध्यक्ष शहबाज शरीफलाई प्रधानमन्त्री पदका लागि सिफारिस गरेका छन् भने मरियम नवाजलाई पंजाब प्रान्तको मुख्यमन्त्री पदका लागि सिफारिस गरेका छन् ।’
उनी पार्टीका प्रमुख नवाज शरीफका कान्छो भाइसमेत हुन् । शहबाज शरीफ २०२२ देखि २०२३ को बीचमा पाकिस्तानको प्रधानमन्त्री बनेका थिए ।
गत बिहीवार पाकिस्तानमा सम्पन्न आमनिर्वाचनको मतपरिणाममा कुनै पनि पार्टीले बहुमत हासिल गर्न सकेका छैनन् ।
इमरान खानको पार्टीलाई प्रत्यक्षतर्फ सबैभन्दा बढी सिट
पाकिस्तानमा गत बिहीवार सम्पन्न प्रत्यक्षतर्फको निर्वाचनमा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पीटीआई समर्थित उम्मेदवारहरूले सबैभन्दा बढी ९२ सिट जितेका छन् । यस्तै, नवाज शरीफको पार्टी पीएमएल–एनले ८० र पीपीपीले ५४ सिट जितेको छ । बाँकी सिट अन्य दलले जितेका छन् ।
इमरान खानको पार्टीले चुनावमा धाँधलीको आरोप लगाएको छ । उनको पार्टीले केही सिटको नतिजाविरुद्ध कानूनी कदम उठाउने बताएको छ । तर, सरकार र चुनाव आयोगले उक्त आरोपको खण्डन गरेको छ ।
३३६ सिट रहेको पाकिस्तानको तल्लो सदनमा प्रत्यक्षतर्फ २६६ सिटमध्ये २६४ सिटका लागि निर्वाचन भएको थियो । जसमध्ये एक सिटको निर्वाचन पछि सारिएको छ भने अर्काेको निर्वाचन रोकिएको छ । बाँकी ७० सिटमध्ये ६० सिट महिलाका लागि र १० सिट गैरमुस्लिमका लागि आरक्षित गरिएको छ ।
यी ७० सिटमा दलहरूले प्रत्यक्षतर्फ पाएको सिटका आधारमा सांसद चयन गर्न पाउनेछन् । यसमा इमरान खानको दलले सिट पाउने छैन । किनकि उनको दललाई निर्वाचनमा प्रतिबन्ध लगाइएको थियो । एजेन्सीको सहयोगमा