काठमाडौं । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकार निर्माण रोक्नु नपर्ने भएको छ । सर्वोच्च अदालतले उक्त क्षेत्रमा केबलकार निर्माणविरुद्ध परेको रिटमा यसअघि दिएको अल्पकालीन आदेशलाई निरन्तरता नदिएपछि निर्माण अघि बढाउने बाटो खुलेको हो ।
तर, पाथीभरा क्षेत्रमा आधुनिक संरचना निर्माण किरातहरूको धार्मिक ग्रन्थ मुन्धुमको दर्शन, मूल्य, मान्यताविपरीत हुने भन्दै ‘नो केबलकार’ अभियान शुरू गरेका स्थानीय आफ्नो अडानमा कायमै रहेको परिप्रेक्ष्यमा केबलकार निर्माण कार्य सहजै अघि बढाउन भने कठिन हुन सक्छ ।
गत माघ ८ गते उक्त केबलकारको शिलान्यासलगत्तै पाथीभरा क्षेत्रमा केबलकारविरोधी र सुरक्षाकर्मीबीच हिंसात्मक मुठभेड भएको थियो । मुठभेडमा कैयौं घाइते भएका थिए । हिंसात्मक प्रदर्शन रोक्न ताप्लेजुङमा निषेधाज्ञा नै जारी गर्नुपरेको थियो । केबलकारविरोधीले काठमाडौंमा समेत प्रदर्शन गरेका थिए । विवाद सुल्झाउन भएका वार्ताहरू निष्कर्षहीन छन् ।
गत चैत १३ गते सर्वोच्चका न्यायाधीश शारंगा सुवेदीको इजलाशले केबलकार निर्माणको काम यथास्थितिमा राख्न अल्पकालीन आदेश जारी गर्दै सो विषयमा अन्तरिम आदेश जारी हुनुपर्ने हो/होइन भन्ने निष्कर्षमा पुग्न दुवै पक्षलाई बोलाएको थियो । उक्त इजलाशले अर्को आदेश जारी नहुँदासम्म केबलकार निर्माणको काम यथास्थितिमा राख्न आदेश दिएको थियो । बुधवार सर्वोच्चका न्यायाधीशहरू नहकुल सुवेदी र अब्दुलअजिज मुसलमानको संयुक्त इजलाशले यसअघिको अल्पकालीन आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश जारी गरेको हो ।