काठमाडौं । जापानमा करीब साढे २ दशक बिताएका धादिङका गैरआवासीय नेपाली कृष्ण सिम्खडाको एकल लगानी रहेको आर्या होटेल एन्ड स्पा सञ्चालनमा आएको छ । उक्त प्रोपर्टी साढे २ अर्ब रुपैयाँ लगानीमा तयार भएको बताइएको छ । ठमेल नरसिंह चोकमा केही दिनअघि सफ्ट ओपनिङ गरिएको उक्त होटेलले साँचो अर्थमा नेपाली कला, संस्कृति र आतिथ्य पस्किने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । होटेलमा १६० देखि १ हजार ६०० अमेरिकी डलरसम्मका विभिन्न वर्गका रुम छन् ।
‘म जापान बस्दा उनीहरूले आफ्नो कला र संस्कृतिलाई लामो समयदेखि जोगाइराखेको देखेको थिएँ,’ सिम्खडाले भने, ‘मैले पनि नेपाल गएर केही गर्नुपर्छ भन्ने सोचले होटेल निर्माण शुरू गरें ।’
सिम्खडा यहाँबाट फर्किने विदेशीले नेपाली कला र संस्कृतिको अनुपम अनुभव लिएर फर्किन पाउन भन्ने उद्देश्यले यो होटेल निर्माण गरेको बताउँछन् । उनका अनुसार होटेलको लबीमा मयूर झ्याल र देशमरु झ्याःको मिश्रणसहितको काष्ठकला छ । पाहुनाको स्वागतमा पनि नेपाली परम्परा अँगालिएको उनले बताए । यसो गर्दा आगन्तुकले नेपाली अतिथि सत्कार अनुभव गर्न पाउने उनको भनाइ छ ।
करीब २० आना जग्गामा निर्मित होटेलमा जग्गासहित २ अर्ब ५० करोड रुपैयाँ लगानी भइसकेको सिम्खडाले बताए । ७२ ओटा रुम भएको होटेलमा ४१ ओटा डिलक्स छन् । ज्याकुजीको सुविधासहित २९ ओटा सुइट रुम छन् । होटेलमा करीब १०० वर्गमीटरको प्रेसिडेन्सियल सुइट रुम पनि छ । होटेलको पहिलो तलामा करीब २५ जना र ११औं तलामा करीब ७० जना अट्ने सभाहल छ ।